arrow

आहा रारा पोखरा गोल्डकप शुरु, पहिलो खेलमै सहारा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
police-vs-sahara.jpg
तस्बिर : सुदर्शन रञ्जित

पोखरा । नेपाल पुलिस क्लबले चौबीसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । आज भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १-० गोलले हराएको हो ।

खेलको ३६औँ मिनेटमा पुलिसका उज्वल राईले गोल गरेका हुन् । कर्नरबाट प्रहार गरेको बल सिधै गोल भएको थियो ।

उनको प्रहार सहाराका गोलकिपर सन्तोष महतले बल रोक्ने कुनै अवसर नै पाएनन् । पुलिसका राई प्लेअर अफ दि म्याच बने । बुधबारको खेल सशस्त्र प्रहरीको एपीएफ र मछिन्द्र एफसीबीच हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए ।

आयोजक सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार प्रतियोगितामा १२ टिम सहभागी हुँदैछन् । यस वर्ष मनाङ मर्स्याङ्दी भने नखेल्ने भएको छ ।

प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ तर्फ सहारासहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।

तीमध्ये यूके र आर्मीले सिधै क्वाटरफाइनल खेल्नेछन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रीस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् ।

यस्तै थ्रीस्टार र उजेकिस्तानले पनि सिधैँ क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।

प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबको अनुमान छ ।

यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ