arrow

तिलोत्तमामा परमानन्द काव्यवाटिका हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
kavyabatika-butwal.gif

बुटवल । रुपन्देहीको बुटवलस्थित तिलोत्तमा – १ नयाँमिलमा अवस्थित परमानन्द संन्यास आश्रम तथा श्री दुर्गा वैदिक संस्कृत विद्यालयले वार्षिक रुपमा गर्ने भण्डारा तथा साहित्यिक कार्यक्रम परमानन्द काव्य वाटिकाको तयारी तीव्र गतिमा भइरहेको छ । 

राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीको स्मृतिमा माघ शुक्ल अष्टमीमा हुने गुरुभण्डारा कार्यक्रमको पूर्व सन्ध्यामा अघिल्लो रात साहित्यिक कार्यक्रम गरिन्छ ।

काव्य वाटिकाको तीव्र तयारी भइरहेको, माघ २२ गते बेलुकी ७ बजे कार्यक्रम शुरु हुने र मध्यरातसम्म साहित्यको रसाश्वादन हुने पूर्वविद्यार्थी मञ्चका सदस्य शिवलाल पौडेलले जानकारी गराए ।

कार्यक्रममा देशका विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थिति सँगसँगै रुपन्देहीका विभिन्न विद्यालयका छात्रछात्राले रचना वाचन गर्ने छन् । 

छन्द कविताको विशेष आश्वादन प्राप्त गर्न सकिन्छ । ससाना बटुकले ब्रह्म, जीव र जगतबारे कविता सुनाउँदा माहोल नै परमानन्दमय हुने विद्यार्थी मञ्चका सचिव कृष्णप्रसाद अर्यालले बताए ।

उक्त कार्यक्रममा आठ सयदेखि एक हजारसम्म दर्शकको उपस्थिति रहने तथा अर्को दिनको गुरु भण्डारा कार्यक्रममा पाँचदेखि आठ हजारसम्म भक्तजनको उपस्थिति रहने पूर्वविद्यार्थी मञ्चका अध्यक्ष पीआर भट्टराईले जानकारी दिए ।  

रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट भक्तजनको आगमन हुने गरेको छ ।

स्वामी परमानन्द सरस्वतीले स्थापना गरेका ५० भन्दा धेरै आश्रम तथा गुरुकुलहरू पश्चिमाञ्चललगायत देशका विभिन्न ठाउँमा रहेका छन् । 

गुरुकुलहरुमा संस्कृत तथा आधुनिक शिक्षाको पनि पढाइ हुने गरेको छ । दुर्गा वैदिकमा उच्चमाविसम्मको निशुल्क अध्ययनको व्यवस्था रहेको छ ।

श्री दुर्गा वैदिक संन्यास आश्रमका पीठाधीश स्वामी विवेकान्द सरस्वती हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ