संसद्बाट ‘फास्ट ट्र्याक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय [भिडियो]
सरकारले भव्य रूपमा शहीद दिवस मनाउने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
527
Shares
काठमाडौँ । सरकारले संसद्बाट ‘फास्ट ट्र्याक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरूलाई संसद्मा फास्ट ट्र्याकबाट संसद्बाट पास गर्ने काम हुने बताए ।
साथै सरकारले भव्य रूपमा शहीद दिवस मनाउने भएको छ । उनका अनुसार शहीद सप्ताहको बुधवार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताए । उनले शहीद दिवसको स्मरणमा काठमाडौँमा कार्यक्रमको आयोजना गरिने पनि बताए ।
उनले भने, ‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । त्यसकारण भोलि सरकारको तर्फबाट शहीद दिवस मनाउने काम हुन्छ । भोलि प्रधानमन्त्रीसहित हामी सबै जना शहीदगेट जान्छौँ । त्यहाँ शहीदहरूप्रति श्रद्धाञ्जली र माल्यार्पण हुन्छ । त्यसपछि हामी लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौँ । त्यसपछि जहाँ ठाउँ खालि हुन्छ त्यहाँ हाम्रो कार्यक्रम हुन्छ । हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदै छ । यो हिउँदे अधिवेशनबाट हामीले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरूलाई संसद्मा फास्ट ट्र्याकबाट संसद्बाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरू कार्यान्वयनको लागि नियमावलीहरू तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ । अध्यादेश कार्यान्वयनमा जान्छ ।’
सरकारले ल्याएको अध्यादेशहरू संसद्बाट फास्ट ट्र्याकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय समेत भएको उनले बताए । अध्यादेशहरू कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको बताए ।