रौतहट । सरकारले विद्यार्थीलाई नियमित गराउन गरेको ब्यवस्था अन्तर्गत दिवा खाजाको रकममा भ्रष्टाचार भइरहेका समाचार पटक पटक आइरहने रौतहट जिल्लामा एउटा सामुदायिक विद्यालय भने आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ।
कटहरिया नगरपालिका– ७ स्थित मावि बगही विद्यार्थीलाई दिवा खाजा ख्वाउनमा संभवतः जिल्लामै अब्बल देखिएको हो । विद्यालयको निजी आम्दानी हुने कुनै स्रोत नभएपनि वडा अध्यक्ष धोबीले बिकास बजेटबाट दिने गरेको रकमबाट बिद्यालय सञ्चालनमा टेवा पुगेको छ।
मावि बगहिमा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक दिन परिकार परीवर्तन गरी दिवा खाजा दिने गरिन्छ। शिशु कक्षादेखि कक्षा ५ सम्मका ४५५ जना विद्यार्थीहरुलाई साताको आइतबार खीर, सोमबार कुखुराको मासु चिउरा वा उसिनेको अण्डा, मंगलबार मौसम अनुसारको फलफूल, बुधबार पकाइएको चना भुजा, बिहीबार हलुवा र शुक्रबार खिचडी दिवा खाजाको रुपमा दिने गरिएको प्रधानाध्याक सरोजकुमार साहले बताएका छन्।
जबीकि कटहरिया नगरपालिकाका अन्य विद्यालयहरुले दिवा खाजामा प्याकेटको चलानी नास्ता दिने गरेका छन् ।
वडा ७ का अध्यक्ष महमद सहिद मियाँ धोबी र प्रधानाध्यापक सरोज कुमार साहको सक्रियतामा मावि बगहीमा कक्षा १० का विद्यार्थीहरूको लागि निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरिरहेको छ।
कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीलाई गत भदौदेखिनै निःशुल्क रुपमा एसईई परीक्षाको तयारी कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक साहले बताएका छन्।
तीन विषयको तयारीका लागि सञ्चालन गरिएको कक्षामा अध्यापन गराउने ३ जना शिक्षकमध्ये २ जनाको पारिश्रमिक प्रधानाध्यापक साहबाट ब्यक्तिगत रुपमा दिँदै आएको उक्त विद्यालयका पूर्व प्रअ नवलाकिशोर ठाकुरले बताए ।
विद्यालयमा कार्यरत निजी स्रोतका ७ जना शिक्षकको तलबको लागि वडाध्यक्ष धोबीले वडाको सिलिङबाट मासिक करिब १ लाख रुपैयाँ दिँदै आएको एकजना शिक्षक नागेन्द्र राउतले जानकारी दिएका छन् ।
माबि बगहीमा संभवतः जिल्लामै सबै विद्यालय भन्दा कम शुल्क लिने गरिएको छ। प्लस २ कक्षामा पाठ्यपुस्तकसहित वार्षिक ३५ सय मात्र शुल्क लिने गरिन्छ, जुन अन्य विद्यालयको तुलनामा निकै कम भएको प्रधानाध्यापक सरोजकुमार साहले दाबी गरेका छन् ।
त्यतिमात्र नभई विद्यालयमा आर्थिक कारोबार पूर्ण डिजिटल अर्थात् बैङ्किङ प्रक्रियामा हुने गरेको बताइएको छ।
विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म कूल ८८१ विद्यार्थी अध्ययनरत रहेका छन् भने ३ जना निजी स्रोतसहित १५ जना शिक्षक कार्यरत रहेको बताइएको छ।
यति राम्रो तरिकाले विद्यालय सञ्चालन गर्दा पनि अन्य विद्यालयहरूमा निजी स्रोतको शिक्षक दिने कटहरिया नगरपालिकाले माबि बगहीलाई सधै उपेक्षा गर्दै आएको त्यहाँ कार्यरत शिक्षकहरुले दुःखेसो पोखेका छन् ।