काठमाडौँ । टर्किएको एक रिसोर्टमा आगलागी हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । बोलु राज्यस्थित कार्तलकाया स्की रिसोर्टमा आगलागी भएको हो । ११ औँ तलामा भएको आगलागीबाट बच्नका लागि कयौँ मानिसले ११ तलाबाटै जमीनमा फाल हाल्दा घाइतेसमेत भएका छन् भने कतिपयको मृत्यु भएको छ ।
कम्तीमा ५१ जना घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार आगलागी भएपछि भागदौड मच्चिएको थियो । अधिकारीहरुका अनुसार आगलागीको कारण अहिलेसम्म खुलेको छैन । हाल टर्किएमा विद्यालयमा छुट्टी चलिरहेको छ । जसका कारण होटलहरुमा भीड बढेको छ ।
टर्किएका राष्ट्रपति रिसेप तैयप एर्दोगानले घटनाका जिम्मेदारहरुको पहिचानका लागि अनुसन्धान शुरु भइसकेको जनाउँदै दोषीमाथि कडा भन्दा कडा सजाय दिन जस्तोसुकै कदम उठाउने बताएका छन् ।