काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा रियाल मड्रिड शीर्ष स्थानमा पुगेको छ । एथ्लेटिको मड्रिडको शीर्ष स्थान खोस्दै साविक विजेता मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।
शीर्ष स्थान सुरक्षित गर्ने क्रममा आइतबा राति रियालले लस पल्मसलाई ४–१ ले हरायो । जसमा केलियन एमबाप्पेको २ गोल रहेको थियो। घरेलु मैदानमा भएको खेलमा रियाललाई जित दिलाउन ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे।
पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना बनेको थियो।
खेलमा शुरुवाती अग्रता भने पल्मसले लिएको थियो । सिल्भाले खेल शुरू भएको पहिलो मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए ।
तर एमबाप्पेले १८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ३३औँ मिनेटमा डियाजले गोल गरेपछि रियालले अग्रता दोब्बर पार्यो । त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेका थिए। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे।
जितसँगै २० खेलमा ४६ अंक जोडेको रियाल शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा ४४ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा छ ।
३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ। २२ अंकसहित पल्मस १४ औं स्थानमा छ।