arrow

सन्तोष-सहिमाको ‘तिम्रै छ सम्झना’ सार्वजनिक [भिडियाे]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
timrai-chha-samjhana.jpg

पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । तिम्रै छ सम्झनाको म्युजिक भिडियो सार्वजनिक भएको हो । कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो भने संकलन गरिएको छ ।

योगेश काजीको संगीत संयोजनमा तयार भएको गीत अमन तामाङको निर्देशनमा तयार भएको हो । म्युजिक भिडियोमा टिकटक स्टार बिना राउत र कुशल कोरियोग्राफर एवं डान्सर विवेक थापाको अभिनय छ ।

गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी छन् । पोखरामा रहेर संगीतसँगै पत्रकारिता क्षेत्रलाई अघि बढाइरहेका बस्यालको यो लोक लयको गीत हो ।

यसअघि बस्यालले जीवन सुनारको शब्द संगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्द संगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरि, दिपक शर्माको शब्दसंगीतमा ढाट्यो मायाले, आकाश दाहलको शब्द र आफ्नै संगीतमा बस है पियारी सार्वजनिक गरिसकेका छन् ।

लोक गीत संगीतबाटै आफ्नो सांगीतिक यात्रा शुरुआत गरेका बस्याल आफ्नी आमाको प्रेरणाबाट गीत संगीत क्षेत्रमा छिरेका हुन् । उनकी आमाले गाउँमा अझै पनि गाउने गर्छिन् । आमासँगै रोधीमा सहभागी बन्दै गर्दा आफूले गीत गाउन सिकेको बस्याल बताउँछन् ।

बस्याल भन्छन्, ‘सार्वजनिक भएको उक्त गीत मेरा लागि आशादित गीत हो, यसअघि मैले आधुनिक र पप गीत सार्वजनिक गरे पनि यसपटक लोक लयमा सार्वजनिक गरेको हुँ ।’

बस्याललाई गायक भएपछि सबै खालको गीत गाउन सक्ने हुनुपर्छ जस्तो लाग्छ । नेपाली संगीतको धरातल नै मौलिक लोकगीत भएकाले यसको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने बस्यालको तर्क छ ।

बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् । शास्त्रीय संगीतसमेत सिकेका बस्याल पर्वतका हुन् ।

उनी प्रवीणता परीक्षा उत्तीर्ण गरेपश्चात् पोखरा आएका थिए । स्कुल पढ्दा देखि नै रेडियो सुन्न असाध्यै मन पराउने बस्याललाई रेडियोले नै गायक बनायो ।

पोखराको रेडियो अन्नपूर्णबाट सञ्चारकर्म शुरुआत गरेका बस्याल पछिल्लो समय गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रेस संयोजक भएर काम गरिरहेका छन् । परिचय डटकममा समेत उनको आबद्धता छ ।

बस्याल संगीत सँगसँगै पत्रकारितामा रहरले आएका हुन् । त्यहि रहर नै आज उनका लागि गरिखाने बाटो बनेको छ ।

सांगीतिक प्रस्तुतिका लागि बस्याल नेपालका विभिन्न ठाउँमा पुगेका छन् । गत असोजमा दीप समाज हङकङद्वारा आयोजित सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति राख्न उनी पुगेका थिए ।

दर्शकलाई झुमाउन सक्ने क्षमता भएका बस्यालको चर्चित गायिका अस्मिता अधिकारीसँगै रेकर्ड भएको “मायामा मायामा” लगायतका गीत आउने क्रममा छन् ।

बस्यालका संगीतमा नै पछिल्लो समयमा चर्चित गायकगायिकालाई आवाज भर्न थालेका छन् । गायनसँगै संगीतमा समेत उनको क्रियाशिलता बढ्दो छ ।

पछिल्लो समयकी चर्चित गायिका सहिमा श्रेष्ठले उनलाई “तिम्रै छ सम्झना” मा साथ दिएकी हुन् । नेपाली सिनेमाको दर्शन सलाम, तिम्रा डोलाडोला हातमा, पिच्चर हिटलगायतका चर्चित गीतकी गायिका उनीसमेत उक्त गीतबाट आशावादी देखिन्छन् ।

सन्तोषसँग युगल गीत गाउन पाउँदा उनी खुशी छन् । भन्छिन्, ‘सन्तोषजीसँग मैले पहिले पनि सहकार्य गरिसकेको छु, ढाट्यो मायाले गीतमा उहाँ र मेरो आवाज समेटिएको छ, उहाँको आवाज खारिएको छ, संगीत सिर्जना समेत राम्रो लाग्यो, यस्ता व्यक्तिसँग युगल गीत गाउन पाउँदा खुशी छु ।’

बिना राउत एक मिहिनेती कलाकार हुन्, जसलाई टिकटकबाट माथि उठायो । संगीतमै संघर्षशील राउत अभिनयमार्फत म्युजिक भिडियोमा आएकी हुन् । राउतसमेत उक्त गीतबाट आशावादी छन् । अहिलेसम्मको म्युजिक भिडियो भन्दा फरक काम गर्ने अवसर मिलेको उनले उल्लेख गरिन् ।

निर्देशक अमन तामाङले डान्सको बिटलाई मात्र आधार बनाएर म्युजिक भिडियो निर्माण गरिएको बताए ।

गीतलाई सफलता मिल्छ भनेर नै लगानी गरिएको भनाइ उनको छ । म्युजिक भिडियोमा बीटुुडी डान्स स्कुलका कलाकारको अभिनय छ ।

गीतकार कपिल शर्मा नाटक निर्देशक हुन् । उनले निर्देशन गरेका नाटकलाई सफलता मिलेको छ । पोखरामा बसेर कलाकारितामा समेत क्रियाशील शर्मा गीतकार समेत हुन् ।

गीतसँगै गजल, मुक्तक लेखनमा उनको दखलता छ । आफूले लेखेको गीत सार्वजनिक हुँदा उनी खुशी देखिन्छन् ।

बीटुडी डान्स स्कुलको प्रस्तुतिमा सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई प्रकाश गुरुङ “काश” ले खिचेका हुन् ।

उक्त गीतमा विवेक थापा र स्मृति गुरुङको कोरियोग्राफी छ । पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशिल कलाकार सरिता दानकुटी, साजन खड्का, राजुकमार नेपाली, सुनिल किसान, राम पटेल, लक्ष्मण पटेल, गणेश तामाङ, सुमन परियार, अर्जुन शेरचन, किशोर अछामी, अञ्जुबुढा मगर, अस्मिता नेपाली, कञ्चन नेपाली, इथिया गुरुङ, काजल ठकुरी, बिपना तामाङ, सुस्मिता थापा, पे्रशा परियार, सुक्मित गुरुङ, एलिसा मगरको अभिनय छ ।

गीतलाई बीटुडी इन्टरटेन्मेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको हो । निर्देशक तामाङको सम्पादन र कलरिङ रहेको म्युजिक भिडियोको छायाङ्कन पोखरामा गरिएको हो ।

भिडियाे

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ