पोखरा । पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि मञ्चन सुरु हुने नाटकको पूर्वाभ्यास पोखराको नदीपुरस्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ ।
नाटकको प्रदर्शन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । इन्द्रेणीको छैटौँ प्रस्तुतिका रूपमा निर्माण हुन लागेको नाटकको लेखन केदारनाथ पौडेलले गरेका छन् ।
नाटकमा पोखराबाट काठमाडौँ जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको जनाइएको छ ।
एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जीविकोपार्जन गरिरहेको छ र त्योभित्र कस्ता समस्या छन् भन्नेबारे नाटकमा चित्रण गर्न खोजिएको लेखक पौडेलले जानकारी दिए ।
पोखराबाट काठमाडौँ जाने क्रममा देखिएका दृश्यलाई मञ्चमा उतार्न लागिएको उनले बताए । “सबै मानिस बस चढेर गन्तव्यमा जाने गरे पनि यसरी गन्तव्यमा पुर्याउने बस र कामदारले भोग्ने समस्याबारे यात्रुले खासै ध्यान दिँदैनन् । त्यही कुरा नाटकमार्फत बाहिर ल्याउन लागिएको छ”, पौडेलले भने ।
यसमा कथा शैलीमा फरक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदर आतङ्कलाईसमेत जोडिएकाले दर्शकलाई मनोरञ्जन मिल्ने उनले विश्वास व्यक्त गरे ।