काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । बिहीबार एमाले पार्टी केन्द्रीय कार्यालय सम्बोधन गर्दै उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए ।
उनले आफू एउटा इमानदारिताका साथ काम गर्ने व्यक्ति भएको बताए । झिँगाले सरापेर डिँगा नमर्ने भन्दै अरूले सरापेर एमाले नसकिने टिप्पणी गरे ।
उनले भने, ‘एमालेलाई मार्छौँ, सिद्ध्याउँछौँ भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन् । त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भन्न पुगे । एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर । भित्तामा टाँसेपछि फोटो भएन । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने । के भनेनन् । केपी ओली, को केपी ओली, कोको, को केपी ओली ? यति बिर्सिने भइसके क्या । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसै गरी काम गरोस् । केही छैन । अब को केपी ओली भन्ने कुरा म बताउन्न । मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्छ । तर झिँगाले सरापेर डिँगा मर्ने भए । झिँगाले सराप्दा डिँगा मर्दैन भन्ने भनाइ छ ।’
प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ की छैन भन्ने कुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने बताए ।