ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत, पोलिटब्युरो र सचिवालयले गरेका निर्णयहरू अनुमोदन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
496
Shares
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आईतबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको बैठकको पहिलो दिन प्रधानमन्त्री एवं पाटी अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिक विषय, सरकारले गरेका कामहरू र अगामी दिनहरूमा गर्नुपर्ने कामहरू समावेश गरिएको बताए ।
उनकाअनुसार बैठकले विगत दश महिनाको अवधिमा पार्टीको पोलिटब्युरो र केन्द्रीय सचिवालयले गरेका निर्णयहरू समेत अनुमोदन गरेको छ । केन्द्रीय कमिटीमा मनोनयन भएका, केन्द्रीय कमिटीबाट बिदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन गरिएको उनले जानकारी दिए । अहिले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।
उनले भने, ‘हाम्रो पार्टी केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले पार्टीका तर्फबाट एउटा महत्त्वपूर्ण राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ । राजनीतिक प्रतिवेदनपश्चात् १० महिनाको अवधिमा भएका पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो । र ती निर्णयहरू अनुमोदन भइसकेको छ । केन्द्रीय कमिटीमा मनोनयन भएका, केन्द्रीय कमिटीबाट बिदा भएका, अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरूको अनुमोदन भएको छ । र पार्टी अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिक विषयमा विश्लेषण गरिएको, सरकारले गरेको कामहरू र अगामी दिनहरूमा गर्नुपर्ने कामहरूको सन्दर्भमा विषयवस्तुहरू समावेश गरिएका छन् । त्यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राजनीतिक घटनाहरूमा फेरबदल भइरहेको छ त्यसको विषयमा एउटा विश्लेषणात्मक राजनीतिक प्रतिवेदन उनले प्रस्तुत गरेको छ । त्यसलाई सङ्गठनको वडा केन्द्रित अभियानको रूपमा अगाडि बढाउने गरी कार्यक्रमहरू प्रस्तुत भएका छन् । अब केन्द्रीय सदस्यहरूलाई त्यो प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम शुरु हुन्छ ।’
उनले जारी बैठकले देशभर सङ्गठन बिस्तार गर्ने लगायतका निर्णय गर्ने बताए ।