झापा । झापाको गौरादहमा जारी प्रथम लोकतान्त्रिक कप २०८१ फुटबल प्रतियोगितामा कचनकबललाई हराउँदै आयोजक गौरादह फाइनलमा प्रवेश गरेको छ ।
गौरादह नगरपालिकास्थित जनता माध्यमिक विद्यालय गौरादह १ को खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा गौरादह नगरपालिकाले कचनकवल गाउँपालिकालाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
आयोजक गौरादहलाई फाइनल यात्रा तय गराउन गौरादह नगरपालिकाका तर्फबाट जर्सी नं १६ का नविन श्रेष्ठले दुई गोल गर्न सफल भएका थिए । श्रेष्ठले गरेको गोलबाट आयोजक गौरादहलाई जितको मार्ग पक्का गराएको थियो ।
खेलको अन्तिम समयमा गौरादहले एक थप गोल गर्यो । खेलको दौरानमा गौरादहका खेलाडीले गरेको फाउलका कारण कचनकबलले पाएको पेनाल्टी प्रहारलाई गोलमा परिणत गरी टिमलाई १ गोल दिलाएको थियो ।
खेलको दौरान विजेता टिमका खेलाडी नविन श्रेष्ठ प्लेयर अफ दि म्याच भए । खेलको उत्कृष्ट खेलाडीको रुपमा उनलाई रु २५०० प्रदान गरिएको थियो ।
बिहीबार हुने दोस्रो सेमिफाइनल खेल दमक नगरपालिका र कमल गाउँपालिकाबीच हुनेछ ।
पहिलो लोकतान्त्रिक कप प्रतियोगिता झापाका फुटबल प्रेमीहरूलाई आकर्षित गर्दै सक्दो उत्कृष्ट प्रदर्शनको लागि प्लेटफर्म बनेको छ। प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलका साथमा नगद रु १ लाख ११ हजार १ सय ११ हात पार्नेछ्न् ।
खेलको उपविजेताले ट्रफी र मेडलका साथमा नगद रु ५५ हजार ५ सय ५५ हातपार्ने छ्न् ।
मङ्सिर २८ गतेदेखि जारी खेलको फाइनल खेल पुस ६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।