काठमाडौँ। इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्षोल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ। आज फेसबुक मार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन्।
पुलचोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो । इसेवाका कार्यकारी अधिकृतहरू, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रियटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनौट गरेको हो । सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रम इसेवाका ब्राण्ड प्रवर्द्धकको रूपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, तथा हास्यव्यङ्ग्य कलाकार सुमन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
२०८१ साल आश्विन १ देखि कार्तिक ३० गते सम्म चलेको इसेवा महा–उत्सव नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरूमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रिल प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरूका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो । इसेवा महा–उत्सवमा सहभागी भई नामी कार जित्नका लागि इसेवा मार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसै गरी, रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो।
इसेवा महा–उत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरू पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ । सरोज कुमार पाण्डे र अविन गुरू अचार्यले रु. १०० को खेलमा आईफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दीपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः रु. ५०,०००, रु. २५,००० र रु. १५,००० हात पारेका थिए ।
नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिँदै इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले सम्पूर्ण प्रयोगकर्ता, साझेदार, प्रेस, र इसेवा टिमलाई यस महाउत्सवलाई सफल बनाउन सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरेका थिए। सोही कार्यक्रमको क्रममा उनले भने, “ इसेवा महा–उत्सवमा प्रयोगकर्ताहरूको संलग्नता र साझेदारहरूको प्रतिक्रिया अत्यधिक उत्साहजनक रहेकोले हामीलाई थप ऊर्जा प्रदान गरेको छ। इसेवाको मूल लक्ष्य भनेको नेपाली समाजमा रहेको वित्तीय समस्या र चुनौतीहरूको समाधान गर्नु हो र यसका लागि हामी सधैँ नवप्रवर्तनहरूमा काम गर्दै जानेछौँ । साथै प्रत्येक नेपालीलाई आफ्नो वित्तीय आवश्यकता पुरा गर्न डिजिटल समाधानको माध्यमबाट प्रोत्साहित गर्न थप प्रेरित गर्न लागि रहनेछौँ । इसेवाको साथ हामी सबै मिलेर एक उज्ज्वल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढिरहेका छौँ, जसले हाम्रो जीवनलाई थप सहज र समृद्ध बनाउनेछ। ”