एनपीएलमा लुम्बिनी र सुदूरपश्चिम मैदानमा, सुदूर ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
469
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १२ औँ खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन् ।
खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गरिरहेको छ । सुदूरले पहिले ब्याटिङ गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल शुरु भएको हो । एनपीएलमा दुुवै टोलीको यो तेस्रो खेल हो ।
दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको हार बेहोरेको थियो ।
सुदूरपश्चिम रोयल्सले भने दुई वटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो ।
आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ ।
जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ ।
जारी एनपीएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।
जनकपुर बोल्टस ६ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्स र चितवन राइनोज समान ४ अंकबाट दोस्रो र तेस्रो स्थानमा छन् ।
यसअघिका खेल
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।