चिनियाँ कम्पनीले नारायणगढ–बुटवल सडकको काम मंसिरभित्र नथाले ठेक्का तोड्ने प्रधानमन्त्रीको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
791
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधि सहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम शुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए ।
उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे ।
‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरुले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, ‘प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’
नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।
चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए ।
भौतिकमन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका थिए ।
प्रस्तुत विषयमा महेन्द्र राजमार्गको नारायणगढ देखि बुटवल सडकखण्ड पुनः निर्माणका लागि चाइनास्टेट कम्पनीद्वारा २०७९।०४।२२ सम्ममा कार्य सम्पन्न गर्ने गरि मिति २०७५।१२।०८ मा ठेक्का सम्झौता गरेको देखिन्छ । विगत सात वर्ष देखि ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएकोमा निर्माण कम्पन्नीले विभिन्न वहाना बनाइ निर्माण कार्यमा ढिलाइ भइरहेको कुरा सर्वविदितै छ । पुरानो सडकको संरचना भत्काएर निर्माण कार्य थालनी गरेको कम्पन्नीले आफ्नो निर्माण कार्य सम्पन्न गर्ने म्याद समेत गुजारेर विभिन्न बहाना बनाई पटक-पटक म्याद थप समेत गराइसकेको अवस्था हो । तथापी सम्बन्धित ठेकेदार कम्पन्नीको लापरवाहीका कारण सडकको अवस्था अस्तव्यस्त रहनाले यात्रा गर्ने यात्रीहरुले निकै सास्ती भोग्नुपरेको तथा सडक छिमेकीले समेत प्रदुषित वातावरण भोग्नुपरेको अवस्था छ ।
यस सम्बन्धमा उक्त राजमार्गसँग जोडिएका जिल्ला र स्थानीय तहहरुबाट काममा तिव्रता ल्याउन विभिन्न समयमा तर-ताकेता गर्ने, ज्ञापनपत्र दिने सम्बन्धित कम्पनीलाई काम अगाडि बढाउँन दवाव दिने जस्ता अनेक क्रियाकलाप गर्दा पनि कहि कतै कुनै पक्षबाट कामको प्रगतिमा तिव्रता ल्याउने किसिमको स्थिति सृजना भएको देखिएन । यस राजमार्गमा पर्ने विभिन्न नयाँ शहरहरु प्रदुषित वातावरणको शिकार भएको र आम जनता समेत अस्वस्थ वातावरणमा जिउन बाध्य भइरहेको अवस्था रहयो । यति हुँदाहुदै पनि सडक निर्माणको काम अगाडि बढ्नुको सट्टा निर्माण कार्य ठप्प पार्ने काम भइरहेकोले सरोकारवाला जनसमुदायको आक्रोस बढेर आउनु स्वभाविक भयो । यसको प्रतिकूल असर स्थानीय सरकार, राजनैतिक दल लगायत औद्यौगिक तथा निजिक्षेत्रमा समेत देखिन थालेपछि यो अवस्थालाई चिर्नु आवश्यक छ भन्ने जनदवाव महसुस भएको छ । तसर्थ सम्मानीय प्रधानमन्त्रिज्यू समक्ष यो ध्यानाकर्षण पत्रद्वारा निर्माण कार्यमा लापरवाही हुनुका कारणको जानकारी र निर्माण कार्यमा तिव्रता ल्याउन सम्बन्धित जिम्मेवार पक्षलाई कडा निर्देशन होस भन्ने अपेक्षा सहित यो ध्यानाकर्षण पत्र पेश गरेका छौं ।