काठमाडौँ । नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) बाट नेपालमा नै हुन्डाइ भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण शुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाइ मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई १० निओसका साथै अल न्यू हुन्डाइ क्रेटाको उत्पादन पनि शुरु हुने जनाएको छ ।
हाल बिक्री वितरण शुरु भएको हुन्डाइ भेन्युमध्ये ११९७ सीसीको पेट्रोलबाट चल्ने भेन्यु एफए १.२ एसको मूल्य ४४ लाख ९६ हजार तोकिएको छ भने भेन्यु एफएल १.२ एसएक्सको पेट्रोलबाट चल्ने ११९७ सीसीको मूल्य ५३ लाख ५६ हजार रहेको कम्पनीले जनाएको छ ।