arrow

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
pu-teaching-hospital-pokhara.jpg

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पूर्णरुपमा सञ्चालनमा आएको छ । विश्वविद्यालयले गत भदौमा आंशिक रूपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्णरूपमा सञ्चालनमा ल्याएको हो ।

विश्वविद्यालयले गत भदौमा आंशिक रूपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि पूर्णरूपमा सञ्चालनमा ल्याएको हो ।

विभिन्न सङ्घसंस्थाको सहयोगमा रु पाँच करोडका स्वास्थ्य उपकरण सङ्कलन भएपछि अस्पताल उद्घाटन गरिएको हो । अस्पताल भवन रु सात करोड बराबरको लागतमा निर्माण गरिएको विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायका डिन डा अमर नागिलाले जानकारी दिए ।
विश्वविद्यालयले शिक्षण संस्था बनाउन सभाले पारित गरेका १८ करोड बजेटबाट केही रकम खर्च गरेको उनले बताए ।

पोवि उपकुलपति प्राडा प्रेमनारायण अर्यालका अनुसार १० करोड रुपैयाँको लागतमा बनेको अस्पतालले सबैखालको स्वास्थ्य सेवा दिने सपना रहेको सुनाए । अहिले एक सय शैश्यामा सञ्चालित अस्पताल निकट भविष्यमा तीन सय शैश्याको बनाएर एमबिएस पढाइ उनले बताए ।

अस्पताल उद्घाटनमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताए । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उनको आग्रह थियो ।

स्वास्थ्यका कारण जनता शारीरिक एवं मानिसक रूपमा विचलन नहुने गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड थियो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विश्वविद्यालय विभिन्न नयाँनयाँ कार्यक्रम ल्याउँदै प्रगति पथमा अगाडि बढेको बताए । उनले विश्वविद्यालयको नयाँ कार्यक्रम शिक्षण अस्पतालले विद्यार्थीलाई प्राक्टिकलका साथै अनुसन्धानमूलक सेवा दिनु सहज हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका रजिष्ट्रार एवं शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमहरूलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

उनले अस्पताललाई देशकै उत्कृष्ट र स्मार्ट बनाउने लक्ष्य लिएको भन्दै अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने र विशिष्टीकृत सेवा प्रदान गर्ने स्पष्ट पारे ।

विश्वविद्यालयले स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा पब्लिक हेल्थ, फार्मेसी, बिपिटी, बिएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन गरिरहेको छ । अस्पतालमा ४० जना कर्मचारी छन् । जसमध्ये छ जना कन्सल्टेन्ट डाक्टर, छ जना मेडिकल अफिसर, डेन्टल अफिसर र प्रयोगशालातर्फका जनशक्ति छन् ।

अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार यादवका अनुुसार अस्पतालबाट अहिले पारीवारिक सामान्य चिकित्सा, इन्टरनल मेडिसिन, बालरोग, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी तथा नशा, दन्त चिकित्सा सेवा उपलब्ध छ ।

प्रयोगशाला, औषधि, एक्सरे, भिडियो एक्सरे, चौबिसै घन्टा आकस्मिक सेवा र इसिजी सेवासमेत उपलब्ध छ । उनका अनुसार आगामी दिनमा शल्यक्रिया, आइसियु, एनआइसियु र अन्तरंग सेवा थप्ने योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ