arrow

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी, पेचिलो बन्दै समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
khagaraj-adhikari-chief-minister-2080.jpg
तस्बिर – फाइल ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । गण्डकी प्रदेशको आज दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङ्गे छन् । राप्रपा दुई सांसद छन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने विषय पेचिलो देखिएको छ । बहुमतको लागि उनलाई ३१ मत आवश्यक पर्दछ । एमालेका सभामुख बाहेक २१ र माओवादीका नेसपा बाहेक ७ र एकीकृत समाजवादीको एक गरी २९ मत मात्र पुग्दछ ।  

त्यस्तै बाबुरामको नेसपाका एक सांसदले मत दिए पनि ३० मत मात्र हुने भएकाले विश्वासको मत पाउन सहज देखिएको छैन । 

संविधानमा सभामुखले बराबर मत भएको अवस्थामा मात्र मत दिन सक्ने अवस्था रहेको छ । यो अवस्थामा विश्वासको मत लिने विषय प्रतिक्षारत रहेको छ । 

प्रदेशमा नेपाली कांग्रेस र राप्रपा भने विपक्षमा रहेका छन् । रापपालाई सभामुख दिएर भए पनि विश्वासको मत लिनेमा एमाले रहेको छ । तर राप्रपाले यो कदममा साथ दिन्छ कि दिँदैन भन्ने प्रश्न पनि पेचिलो रहेको छ । 

माओवादीले सातै सांसदलाई ह्वीप जारी गरेको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् । निर्णायक शक्ति मानिएको राप्रपाको सरकारलाई समर्थन नगर्ने अडान यथावत छ ।

प्रदेश स्तरीय नेताहरुले विश्वासको मत दिन सक्ने संकेत गरिरहँदा केन्द्रबाट कुनै निर्णय भएको छैन । नेताहरुले केन्द्रकै निर्णय कुरेर बसेको बताइरहेका छन् ।

कांग्रेसले दलको बैठक बोलाएको छ । बैठकबाट मुख्यमन्त्री अधिकारीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने कांग्रेसको तयारी छ ।

 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ