arrow

चर्चित वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङ दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
kunjok-chring-tamang-2080.jpg

काठमाडौँ । चर्चित वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई विशेष अदालतले दोषी ठहर गरेको छ । तस्करीबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले तामाङलाई दोषी ठहर गर्दै सजाय निर्धारणको पेसी तोकेको हो ।

विशेषले एक वर्षअघि दायर मुद्दामा कसूर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार २७ बैशाखमा उनीमाथि सजाय निर्धारण हुनेछ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो । 

कुन्जोकमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो । उनले वन्यजन्तुको अखेटोपहार ओसारपसारसमेत गरी गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको हो ।

विशेषलाई प्राप्त प्रमाणबाट उनले सात करोड १४ लाख रुपैयाँभन्दा बढी व्यय तथा आर्जन गरेको भेटिएको थियो । 

जसमध्ये ६ करोड ४७ लाख रुपैयाँ उनको वैध आय छ भने स्रोत पुष्टि हुन नसकेको ६७ लाख ६५ हजार रुपैयाँ कसूरबाट आर्जित रहेको इजलासको निष्कर्ष छ ।

विशेषले उनलाई एकदेखि चार वर्षसम्म सजाय हुन सक्ने भन्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो । 

कुन्जोकलाई जिल्ला अदालत रसुवाले पनि वन्यजन्तु सम्बन्धी अपराधमा दोषी ठहर गरेको छ । 

उनलाई तीन वर्षअघि जिल्ला अदालत रसुवाले सात वर्ष कैद सजायका साथै एक लाख रुपैयाँ जरिबानाको सजाय तोकेको थियो ।

१५ वर्षअघि ठूलो परिमाणमा पाटेबाघ र चितुवाको छालासहित रसुवाको स्याप्रुबाट पाँच जना पक्राउ परे पनि कुन्जोक फरार भएका थिए । उनलाई २०७७ साल असार ११ मा सीआईबीले पक्राउ गरेर मुद्दा चलाएको थियो । 

त्यसपछि कुन्जोकले कानूनी छिद्रबाट उम्कन उच्च अदालत पाटन र सर्वोच्च अदालतको सहारा लिएका थिए । बन्दी प्रत्यक्षीकरण रिटबाटै छुट्ने र उम्कने प्रयासस्वरूप पाँच महिनादेखिको उनको योजना सर्वोच्चले रिट खारेज गरेसँगै असफल भएको थियो ।

२०७७ कात्तिक २ मा सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा ३ कात्तिकमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गर्दै फाइल मगाउने आदेश गरेको थियो । 

त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो भने विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । 

तर कुन्जोक आफैँले दुई वटा पेसीमा सुनुवाइ स्थगित गराए । तेस्रो पटक तोकिएको पेसीमा भने सुुनवाइ भएसँगै कुन्जोकको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको हो ।

रसुवा जिल्ला अदालतको आदेशले थुनामा रहेका तामाङले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनको निवेदनमा उच्च अदालतले सक्कल कागज मगाउने आदेश दिएको थियो । 

उच्च अदालतले तोकेको पेसीमा पनि कुन्जोकले दुई पटक स्थगित गराएका थिए । उच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा तामाङले कोभिड–१९ को कारण देखाएर सर्वोच्चमा आफू कुन्जोक लामा भन्ने व्यक्ति नभएको जिकिर गर्दै छुटकारा पाउन माग गर्दैै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । 

तामाङ सो घटनाका मुख्य अभियुक्त हुन् । मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तुको तस्करी गर्दै आएका थिए । 

रसुवामा सेनाले बरामद गरेको सो घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठूलोमध्येको घटना हो । 

वन्यजन्तुको अवैध सिकार तथा पैठारी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका तामाङ १५ वर्षदेखि फरार थिए । 

तामाङ नेपालमा मात्रै होइन, भारतमा पनि वन्यजन्तु तस्करीमा संलग्न भएसँगैै मुद्दा चलेपछि फरारको सूचीमा छन् । 

वन्यजन्तुको ओखेटापखेटा तस्करी मुद्दामा फरार तामाङलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा वन्यजन्तुको तस्करको गतिविधिमा संलग्न कुन्जोकको नाम भारतमा हुने ठूलो अपराधमा पनि जोडिएको छ । 

भारतको मध्यप्रदेशको सुहागपुर जिल्ला अदातले तस्करीहरूको नाममा पक्राउ गर्न आदेश जारी गरेपछि कुन्जोक त्यहाँबाट भागेर नेपाल आएको बेला पक्राउ परेका थिए । 

कुन्जोकविरुद्ध नेपालका अदालतमा मुद्दाको सुनुवाइ शुरु भएपछि इन्टरपोलले नेपाल प्रहरीको सीआईबीलाई पठाइदिएको कागजातमा फरार रहेका भारतीय अभियुक्तहरुसँग पनि कुन्जोकको सम्बन्ध देखिन्छ । 

मध्य प्रदेशको भोपालका ‘चिफ वाइल्डलाइफ वार्डेन’ ले सीआईबीलाई पत्र लेखेरै आफूहरुको ‘सर्वाधिक खोजी सूची’ मा रहेका जयसँग कुन्जोकको सम्बन्ध रहेको पाइएको खुलाएका छन् । 

नेपाल र भारतमा कुन्जोकले प्रयोग गर्ने मोबाइल नम्बरबाट ती फरार व्यक्तिहरुको मोबाइलमा कयौँ पटक कुराकानी भएको विवरण भारतीय प्रहरीले सीआईबीलाई उपलब्ध गराएको थियो ।   

भारतको मध्यप्रदेश ‘स्पेशल टास्क फोर्स’ ले इन्टरपोललाई सितार, धार्के र टासीसँग कुन्जोकको सम्बन्ध रहेको जानकारी गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ