- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसका लागि विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ ।
विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।
विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मान गरेको थियो ।
सो सम्मान कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मलामीका लागि सञ्चालित बसलाई मासिक इन्धन उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनले भने, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।”
ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, “ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको छ, अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु अहिलेको आवश्यकता हो ।”
उनले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ ।
ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो । वडाभित्र बसोबास गर्ने एक सय जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
कार्यक्रममा सम्मानित अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिकयात्रामा जानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन् ।