arrow

झगडा छुटाउन गएका धनजित मकैबारीमा मृत फेला, मावलमा लुकेर बसेका तीन आरोपी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
Khotang-hamrakura.jpg.jpeg

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् । 

यही वैशाख १ गते राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहारगरी धनजितको हत्या गरेर फरार भएको आरोपमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो । 

हत्या गरी फरार उनीहरुलाई सोही नगरपालिकाको वडा नं. १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन् । “धनजितको हत्यापछि फरार भएका उनीहरु तीनैजनालाई पाथेकास्थित भुसुन्दाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ”, उनले भने ।

उनीहरुले धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरु तीनैजनाले धनजितको हत्या आफूहरुले नै गरेको स्वीकार गरिसकेका छन् । 

धनजितको हत्यापछि भागेर भुसुन्दा पुगेका उनीहरु मावली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिए । घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजनालाई थप अनुसन्धनाका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । 

साँझको समयमा भएको घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरीचौकी जालपा र प्रहरीचौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका थिए । धनजितको हत्यापछि राति नै भागेका उनीहरु तीनैजनालाई एउटै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् । छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई साँझ साढे सात बजे फोन सम्पर्क गरेको बताइएको छ । 

भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिए । मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

मृतक धनजित र भीमबहादुर गाउँमा सँगै मिलेर मिस्तिरी (घर बनाउने काम) गर्दै आएका थिए । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उनकी श्रीमती अप्सरा भनिने प्रेमकुमारी पौडेल (बस्नेत) सामान्य घाइते आएका थिए । 

विकास र आशन गत वैशाख ३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिख छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्धामा कारागार बसेर छुटेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ