arrow

कुम्भ राशि भएकालाई यो वर्ष प्रतिकूल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-kumbha-aquarious.jpg

काठमाडौँ । यो वर्ष आरम्भमा द्वितीय राहु, अष्टम केतु तथा बाह्रौँ शनिको प्रतिकूलताले स्वास्थ्य सम्बन्धी कठिनाइका साथै आर्थिक कठिनाइ समेतले चिन्तित बनाउने छ । लेनदेनको विवाद चर्किँदा कानूनी रूपमासमेत  क्षति पुग्न सक्छ । शत्रुले पाइला पाइलामा खेदो गर्नेछन् । 

असफलता धेरै हुँदा मनोबल कमजोर हुनेछ । परिवारको सहयोग नपाउँदा काम गर्ने आँट नआउने हुँदा सबै काम अधुरा रहने छन् । आम्दानीका मार्ग बन्द हुने र खर्च गर्नु पर्ने बाध्यताहरूले चिन्ता बढाउने हुँदा निद्रा कम हुने भएकोले पानी धेरै पिउनु पर्ला । विश्वास दिलाएर फसाउनेहरू प्रशस्तै हुने भएकोले उच्च नेता वा कर्मचारीको ओहोदामा हुनेले कुनै पनि काम गर्दा अरुको विश्वास गरेमा पदप्रतिष्ठामा आँच आउन सक्छ । 

बैशाख १७ देखि केन्द्रादि दोषयुक्त गुरु चतुर्थ स्थानमा प्रवेश गर्ने र आठौँ र बाह्रौँ स्थानमा दृष्टि दिने आषाढ ३१ गतेदेखि राशिमा शनि बक्र हुँदा समय अलि नराम्रो हुनेछ । व्यापारमा संकट आउनुको साथै वैदेशिक कार्यमासमेत समस्या आउनेछ । 

राज्यको प्रतिनिधित्व गरेर असल काम गर्दासमेत दुःख पाउने विदेश जाने प्रयास गर्दा धन नाश हुने कूटनीतिक कार्यमा लगनशील भएर काम गर्दा पनि राज्यबाट धोका पाउनु होला । नोकरीमा संयम भएमा गुरूको दृष्टिले केही सहज र राजनीतिमा र वैदेशिक कार्यमा सफलता पाउने धार्मिक कार्यले सहज हुने हुँदा धर्ममा संलग्न भई काम गर्नुहोला । घर तथा सवारी साधनमा अनेकन समस्या आउने छन् । अरुसँग गरेको विश्वासले अप्ठेरो वातावरण निर्माण गर्नेछ । पढाइमा सफलता मिल्नेछैन । 

वृहस्पति, राहु, केतु र शनिको साढेसातिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, तर भौतिक सुखमा भने बढोत्तरी हुनेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए शुभ फल मिल्ने निश्चित छ । 

सन्तानबाट सहयोग पाउने सम्भावना कम हुनुको साथै सन्तान प्राप्तिमा समेत समस्या आउने योग छ । पति पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला । बैशाख, श्रावण, मार्ग, पौषमा सूर्यको अनुकूलताले प्रयत्न गर्दा केही काम बन्ने भएकोले राम्रो काममा प्रयत्न गर्दै गोपनीयताका साथ अग्रसर हुनुहोला । 

ज्येष्ठ, आश्विन, माघप्रतिकूल महिना भएकोले संयम भएर काम गर्नुहोला । ॐ नमः शिवाय ।। यो मन्त्रको जप सधैँ गर्नुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्ने सूर्यः प्रचोदयात् ।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।

व्यापार/व्यवसायः व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ, तर नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । स्वास्थ्य व्यवसाय, घर जग्गामा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । व्यवसायी दृष्टिले श्रावण, कार्तिक माघ र चैत्र महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्धः यो वर्ष दाम्पत्य जीवनमा सामान्य उतारचढाव आउनसक्छ । प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ । अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूले मात्र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।

शिक्षाः यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । सोध, गणित र व्यवस्थापन विषयका विद्यार्थी बढी लाभ हुन सक्छन् । बैशाख र जेठ महिनामा विद्यामा ह्रास आउनसक्छ । भाद्र र पुष महिनामा रोकिएको परीक्षा उत्तीर्ण गर्न सकिएला ।

पेशा/रोजगारः पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ र अपजस आइलाग्न सक्छ । कल कारखाना र व्यापार व्यवसायमा खासै राम्रो हुनेछैन । पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीले राम्रो सफलता हात पर्नेछ । पत्रकारिता र वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुने देखिन्छ । साउनबाट नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना रहेको छ ।

स्वास्थ्यः यो वर्षमा स्वास्थ्यमा आफूलाई या घर परिवारको स्वास्थ्य, औषध र उपचारमा धन खर्च हुनसक्छ । रक्तसञ्चार, वायु विकार, टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, उचित परामर्श र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

शुभ रङ्गः गुलाबी, निलो, सेतो, पर्पल र रातो शुभ रङ्ग हो ।

शुभ अङ्कः २, ४, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः प्रत्येक मंगलबार गणेशजीको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । वृहस्पति, शनि र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ । मान्यजनको आशीर्वाद लिनाले राम्रो हुनेछ । 

आफ्नो जन्म दिनमा अशक्तलाई साथ, सहयोगसहित भोजन गराउनाले पनि ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन या पूजा गर्नाले गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ