arrow

समग्रमा यो वर्ष मकर राशि जातकलाई राम्रो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-makar-cappricorn.jpg

काठमाडौँ । समग्रमा यो वर्ष मकर राशिलाई राम्रो रहनेछ । वर्षभरि नै राहु र बृहस्पतिको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शुभ, धार्मिक यात्रा र मङ्गल कार्यको योग पनि रहनेछ । 

वर्षको मध्यमा समय राम्रै भए पनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । केतु र शनिको साढेसातीले भने चिन्ता, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुविधा उत्पन्न हुनेछ अतः मिश्रित फल पाइनेछ ।

बैशाख १७ गतेबाट पञ्चम गुरूको प्रवेश, तृतीय राहुको अनुकूलताले गरेका कामहरू सफलता पूर्वक अघि बढ्नेछन् । द्वितीय शनिको प्रतिकूल प्रभाव र वर्ष आरम्भमा द्वितीय भावमा शनि मंगलले गोचर गरिरहेको हुँदा विवाद बढ्ने हुनाले बोल्दा विचार पुर्याउनु होला । 

संयम भएर काम गर्दा राहु, गुरूको अनुकूलताले जोस र जाँगर बढ्ने र आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन् । मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ । आम्दानीका अवसरहरू प्रसस्त प्राप्त हुनेछन् । व्यापारमा सफलता सोचेभन्दा बढी नै मिल्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश यात्रा पनि छात्रवृत्ति हासिल गरी पढ्न जाने खालको हुनेछ । कुटनीतिक क्षेत्रमा ऐतिहासिक काम गरेर आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । 

नोकरीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ । राजनीतिमा आफ्नो वर्चस्व चारैतिर फैलाउन सफल भई उच्च स्थान हासिल गर्ने अवसर मिल्नेछ । विदेसिएका र भुलेका आफन्तहरूले पुनः याद गर्नेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवसर प्राप्त होला । ठूला व्यक्तिको विश्वास पात्र हुने अवसरका साथै राजनीतिक नियुक्तिको सम्भावना बलियो रहनेछ । पति पत्नीबिच सुमधुर सम्बन्ध हुनेछ ।

असल मान्छेले प्रेम प्रस्ताव राख्ने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आषाढ ११देखि द्वितीय भावमा बक्र हुने शनिले स्वास्थमा समस्या आउने, आर्थिक कारोबारमा समस्या आउने र काममा अरुले अवरोध सिर्जना गर्नसक्ने भएकोले खानपानमा र आर्थिक कारोबारमा सजग हुनुपर्ला । गोपनीयतामा जोड दिनु वेस हुन्छ । बैशाख, भाद्र, पौष महिना नराम्रो भएकोले संयम हुनुहोला । आषाढ, कार्तिक, मार्ग, चैत्र राम्रो भएकोले महत्वपूर्ण काम यसै समयमा गर्नु उचित होला ।

व्यापार/व्यवसायः व्यापारीका दृष्टिले यो वर्ष सामान्य नै रहने छ अतः बुद्धिले काम गर्दा फाइदा मिल्नेछ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, सेयर बजार पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले बैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्धः यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । दाम्पत्य जीवन तथा प्रेमी/प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन्, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन ।

शिक्षाः यो वर्ष मकर राशिका जातकलाई अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार सफलता मिल्नेछ । पढाई लेखाइको लागि विदेश जाने योग पनि छ । पुराना र नयाँ रिजल्ट राम्रै हुन सक्नेछ । चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । भाषा र गणित विषय भने कमजोर रहनसक्छ ।

पेशा/रोजगारः यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । अपजसको सामना गर्नुपर्ला । लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्ला, अतः लगानी गर्नु पूर्व विचार गर्नु पर्छ । साउन महिना पछि नयाँ रोजगारको अवसर आउनेछ । केतु र शनिको नकारात्मक प्रभावले झुटा आरोप लाग्न सक्नेछ । कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।

स्वास्थ्यः यो वर्ष शनि र केतुको कारणले स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । प्रजनन, पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । वायु विकारका साथै रक्त सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । अतः खानपिनमा सावधानी अपनाउनु होला ।

शुभ रङ्गः सेतो, पर्पल, रातो, र निलो शुभ रङ्ग हो ।

शुभ अङ्कः २, ४, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः ग्रह पीडा कमगर्न शनि र केतु सहित नवग्रह शान्ति र जप गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले राम्रो हुन्छ । प्रत्येक शनिबार असहायलाई सहयोग गर्दा पनि राम्रो हुनेछ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ