arrow

धनु राशि भएकालाई यो वर्ष शिक्षा र न्यायिक क्षेत्रमा विशेष सफलता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-dhanu-saggitarus.jpg

काठमाडौँ । धनु राशि भएकाको ग्रह गोचर वर्षको आरम्भमा अनुकूल रहेपनि वर्षभरिकै ग्रह गोचर प्रतिकूल रहनेछ । शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ । शनिको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र सफल यात्रा समेत हुनेछ, देवगुरु वृहस्पति, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानसिक चिन्ता बढ्न सक्छ । जन्म कुण्डलीमा बृहस्पति र राहु ग्रह बलवान हुनेहरूले भने ग्रहको नराम्रा फलको सामना गर्नु पर्दैन । 

शुरूमा पञ्चम गुरु, तृतीय शनि मंगलको अनुकूलताले भाग्य बलियो हुने, शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानसँगको सम्बन्धमा सुधार आउने भएकोले मनोबल बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने र व्यापारमा सुधार आउनेछ । पतिपत्नीबिच बिग्रिएको सम्बन्ध राम्रो हुँदै जानेछ । वैदेशिक कार्य सफल हुनेछन् । नोकरीमा आउने अवरोध हटेर जानेछन् । 

राजनीतिमा आउने समस्या हटेर जानेछन पराक्रम बढने क्रम भने यो सालभरि कायम रहने भएकोले मन बलियो बनाएर काम गर्नुहोला । बैशाख १८ देखि गुरू कमजोर हुने र राहुले चतुर्थ भावमा, केतुले दशम भावमा प्रतिकूल प्रभाव पार्दा मित्र तथा परिवारहरूले विनाकारण संका उपसंका गर्ने भएकोले संयमित नभए मानसिक तनाव उच्च विन्दुमा पुग्ने र निकट जनहरूसँग त्यही कारण टाढिनु पर्ने आवस्था आउन सक्छ । घरेलु समस्या घरैमा मिलाउने प्रयास गर्नुहोला । 

गोपनीयतामा सधैँ ध्यान दिनु राम्रो हुनेछ । खानपानमा ध्यान नपुगे पेट रोग बढ्ने, उच्च रक्तचाप बढ्ने र खर्च धेरै हुने अवस्था आउन सक्छ । झुटा आरोप पनि लाग्नेछ । नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सिर्जना होला । 

रोजगारीको लागि निकै भौँतारिनु पर्ला । राजनीतिमा चारतिरबाट आक्रमण हुनेछ । सानो कुराले पनि पद तथाप्रतिष्ठा गुम्न सक्छ । दाजुभाइसँग सम्बन्ध बिग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । सन्तानसँग विमति र पतिपत्नीबीच विवाद बढ्ने भएकोले सजग हुनु पर्ला । 

ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन महिनामा गरेका प्रयासहरू सकारात्मक हुने र श्रावण, मार्ग र चैत्रमा धेरै समस्या आउन सक्ने भएकोले महत्वपूर्ण कामहरू आश्विन, कार्तिक र फाल्गुनमा गर्नु राम्रो हुन्छ । ॐ हँ हनुमते रुद्रात्मकाय हुं फट । यो मन्त्रको जप बिहान बिहान कम्तीमा १०८ गर्नु राम्रो हुनेछ ।

व्यापार/व्यवसायः यसवर्ष व्यापार व्यवसायमा विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचना प्रविधि लगायतका विषयमा लाभ मिल्नेछ, तर आफन्तसँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । आर्थिक दृष्टिले साउन, कार्तिक र फाल्गुन महिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्धः प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ । नत्र चाँडो निर्णय लिने र फुर्सदमा पछुताउनु पर्ला । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउन सक्छ । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ । सन्तानको रहर गर्नेले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।

शिक्षाः अध्ययन अध्यापनमा सफलता मिल्नेछ । अड्किएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । शोध, स्वस्थ, प्राविधिक र इन्जिनियरीङ्गका शिक्षार्थीलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् । शैक्षिक क्षेत्रबाट जेठ, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगारः यो वर्षको ग्रह गोचर हेर्दा धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । असारबाट नयाँ जागिर वा रोजगारको अवसरले पछ्याउनेछ । ठेक्का पट्टा र दलाली काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ । राहु र केतुको कारणले भने विद्या र बुद्धिमा केही कमजोरी हुनसक्छ ।

स्वास्थ्यः स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ । हात गोडामा चोट लाग्न सक्छ । नशा तथा ग्यास्ट्रिक रोगले सताउन सक्छ र औषध उपचारमा खर्च बढ्नेछ । प्रजनन र हड्डीमा समस्या देखिन सक्छ तर राम्रो स्वास्थ्यका लागि खानपिन र व्यायामको नियमित अभ्यास गर्नुहोला ।

शुभ रङ्गः घ्यू रङ्ग, सेतो, पहेँलो, गुलाबी, नीलो र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्कः ३, ६, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजाः गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । ग्रह पीडाबाट बच्न देवगुरु बृहस्पति, राहु र केतुको ग्रहशान्ति गराउँदा राम्रो हुनेछ । दुर्गाजीको आराधना, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ