arrow

मिथुन राशिका जातकका लागि यो वर्ष शुभ फल मिल्ने तर ग्रह गोचर नराम्रो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-mithun-gemini.jpg

काठमाडौँ । मिथुन राशिका जातकका लागि यो वर्ष शुभ फल मिल्नेछ तर ग्रह गोचर राम्रो छैन । शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ, वर्षको मध्यमा मनमा अनेकौं तर्क र खुल्दुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । मनमा चिन्ता बढे पनि मान सम्मान पाइनेछ ।

वर्षारम्भको समयमा एकादश गुरु, भाग्य भावको शनि अनुकूल भएकोले वाकसिद्धिका साथै शत्रु पराजय हुने योग छ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । राज्यबाट सम्मान हुने र वैदेशिक कार्य तीब्र गतिमा अगाडि बढ्नेछन् । कुटनीतिक कार्यमा आफूलाई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । 

कर्म भन्दा भाग्यलाई जोड दिनु यस वर्ष राम्रो होला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । यो सफलताको योग वैशाख १७ सम्म मात्र रहनेछ । सबै निर्णय यसै समयमा गर्नु उचित हुनेछ । तत्पश्चात् दशौँ राहु र बाह्रौँ गुरूको प्रतिकूल प्रभावले पतिपत्नी बीचको सम्बन्धमा विग्रह हुनुको साथै नयाँ प्रेमका छायाँ परेर प्रेम दुश्मनीमा परिणत हुने योग छ ।

चतुर्थ केतुको प्रतिकूल प्रभावले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने र विश्वासघात हुने भएकोले गोपनीयता वर्षभरि नै अपनाउनु पर्ला । पेटमा समस्या भइरहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । आर्थिक कारोबार अति आवश्यक अवस्थामा पनि विचार पुर्याएर गर्नु उचित हुनेछ । नोकरीमा मुद्दा मामिला र स्थानान्तरण हुने सम्भावना छ । 

ठूला व्यक्तिको सहयोग र सहानुभूति भन्दा पनि धोका,प्रतिसोध साध्य गर्दै सानासाना कुरालाई कोट्याएर बेलाबेलामा दुःख दिने प्रयत्न भइरहने हुँदा संयमित भएर काम गर्नु उचित हुनेछ । राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ने अवस्थासम्म आउन सक्छ । राजकाज सम्बन्धी मुद्दाले राजवन्दी बन्नु पर्ने अवस्था आउन सक्छ ।

ज्येष्ठ, आश्विन, माघ महिनामा व्यापारीलाई नोक्सानी, कुटनैतिक कार्यप्रतिकूल रहने र घरेलु समस्या बढ्ने भएकोले संयम रहनुहोला । बैशाख, भाद्र, मार्ग, चैत्रमा प्रयास गर्दा धेरै काममा सफलता मिल्ने सम्भावना भएकोले काम गर्दा सोचेर गर्नुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् । यो मन्त्रको जप गर्नुहोला ।

व्यापार/व्यवसायः यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । आश मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पशु, कृषि, घरजग्गा, शृंगार र सेयरबजारबाट सफलता मिल्नेछ । तरल पदार्थ र खाद्यान्नको कारोबारमा मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र मंसिर महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्धः यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ साथै दाम्पत्य जीवनमा पनि माध्यम नै रहनेछ । टाढिएका व्यक्ति नजिकै हुनसक्छन् । प्रेम र मित्रताको बन्धनमा र दाम्पत्य जीवनमा विश्वासको कमी हुनसक्छ, अतः पूरा कुरा बुझेर मात्र अघि बढ्नु होला । असोज र माघ महिनामा प्रेम प्रस्ताव आउनसक्छ । प्रेमी जोडीको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ ।

शिक्षाः अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ या शनि र राहुको कारणले भने नजिकैका व्यक्तिसँग असमझदारी बढ्नसक्छ । वर्षको पूर्वार्धमा रिजल्ट राम्रो हुनेछ, तर उत्तरार्धमा रिजल्ट त्यति अनुकुल नहोला । इन्जिनियरिङ् तथा आई. टी. विषयका विद्यार्थीलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीलाई भने अलि संघर्ष गर्नु पर्ला ।
पेशा/रोजगारः यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला आएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । साउन महिना पछि नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । नयाँ कार्यको थालनी हुने र लगानी गरेको ठाउँबाट राम्रो सफलता पाइनेछ । सरकारी कर्मचारीले सजगता अपनाउनु पर्नेछ, अन्यथा कानूनी झमेला आउन सक्छ र राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।

स्वास्थ्यः यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । वायुविकार, आँखा र टाउकोको समस्या बढ्न सक्छ र दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अतः खानपिनमा सावधानी अपनाउनु होला । आफन्त र घरपरिवारका लागि स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ ।

शुभ रङ्गः रातो, गुलाबी, निलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्कः १, ३, ५ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः ग्रहपीडा कमगर्न विष्णु भगवानको दर्शन, पूजा र आरधना गर्नाले राम्रो हुन्छ । विहीबार वा अन्य दिनमा भएपनि केराको वृक्षरोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलता मिल्नेछन् । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ