arrow

सिंह राशि जातकका लागि यो वर्ष त्यति खास नरहला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-singh-leo.jpg

काठमाडौँ । सिंह राशिका जातकका लागि समग्रमा २०८१ साल त्यति खास नरहला । शुरूका दिनमा गुरुको अनुकूलताले आँटेका काममा सजिलै सफलता पाउनु होला । नयाँ कामको अवसर पनि मिल्नेछ । शनि, वृहस्पति, राहु र केतुको प्रभावले वर्षभर नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन र भाग्यमा वृद्धि हुनेछ । उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ ।

अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कीर्तिका काम गर्ने गराउने अवसर मिल्ने र सामाजिक प्रतिष्ठा बढ्ने योग छ । कुरा काट्ने आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसर पर्याप्त मिल्नेछन् । प्रेम गर्नेका लागि समय अनुकूल रहनेछ । वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तिको पनि सम्भावना छ । 

घर सम्पत्ति जोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाई तीब्ररूपले अघि बढाउन सकिनेछ । पढाइमा गरेका प्रयास सकारात्मक रहनेछन । राज्यबाट सम्मान पाउने योग छ । वैशाख १८ गतेपछि पञ्चम गुरु केन्द्रादि दोष बनाएर दशमा भावमा र अष्टम राहु र द्वितीय केतुप्रतिकूल रहने भएकोले संयम रहनु राम्रो ।

मनमा चिन्ता बढ्ने, काममा अवरोध आउने, स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनु उचित होला । विश्वास गरेकाले धोका दिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउने सक्रिय हुनेछन् । सहयोगीबाट र दाजुभाइबाटसमेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोड दिनुहोला । सप्तम शनि स्वगृही भएकोले प्रयत्न गर्दा वैदेशिक कार्यमा सफल भए पनि अरुबाट धोका र षड्यन्त्र हुने भएकोले सबै काममा आफैले ध्यान दिनुहोला । राजनीतिमा पाएको सुविधा जोगाउन अलि कसरत गर्नु पर्ला ।

आषाढ, कार्तिक, फाल्गुन महिना अनुकूल हुने काममा सफलता मिल्ने शत्रु पराजय हुने र धन मनग्य कमाउने अवसर मिल्ने छ । श्रावण मार्ग चैत्र महिना महिनाका दृष्टिले प्रतिकूल रहनेछ । स्वास्थ्य हानि शत्रु बाधा काममा अवरोध घरेलु समस्याले सताउने र चिन्ता बढ्ने योग छ । ॐ नमो भगवते वाशुदेवाय नमः यो मन्त्रको बिहान बिहान जप गर्नु होला ।

व्यापार/व्यवसायः यो वर्ष आर्थिक समस्या बढ्न सक्ने देखिन्छ । सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने बृहस्पति र शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी र शैक्षिक क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले असार, कात्तिक र फागुन महिनामा अधिक लाभ मिल्नेछ ।

प्रेम/सम्बन्धः यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । यसपालि प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ । साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिन्छन् । अतः नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ, तर जन्मकुण्डलीमा सप्तम भावको पोजिसन राम्रो भए आफ्नो अनुकूलताको शुभ फल पाइनेछ ।

शिक्षाः यो वर्ष राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो पर्नेछ । स्वदेश तथा विदेश टाढिएर पढ्न गएका विद्यार्थीलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता नमिल्ला, तर भाषा र गणित विषयका विद्यार्थीलाई विशेष सफलता मिल्नेछ । जेठ, र साउन महिनामा विद्यामा ह्रास आउनसक्छ । असार र भाद्र महिनामा राम्रो परिणाम आउन सक्छ ।

पेशा/रोजगारः कार्य क्षेत्रमा शत्रुबाधा हुनसक्छ । पेशा वा रोजगार वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाइने र अपजस खेप्नु पर्ला । दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । असोज महिनामा भने कम अधुरै रहन सक्छन् ।

स्वास्थ्यः यो वर्ष मानसिक चिन्ता र समस्या बढ्न सक्छ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । टाउको र आँखाको समस्या बढ्नसक्छ । रक्तसञ्चार, नसा, परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, मानसिक चिन्ताबाट बच्न उचित परामर्श र आहार बिहारप्रति सजगता अपनाउनु पर्नेछ ।

शुभ रङ्गः रातो, खैरो, कालो र सेतो शुभ रङ्ग हो ।

शुभ अङ्कः २, ३, ६ र ७ शुभ अङ्क हो ।
 

दर्शन/पूजा/उपायः प्रत्येक विहीबार लक्ष्मीनारायणको र शनिवार हनुमानजीको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्ने, अपाङ्गलाई सहयोग गर्ने । ग्रह शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा कमभई अधिक सफलता मिल्नेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि आफ्नो पितृदेवको आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ