arrow

उपत्यकामा हावाहुरी सहितको छड्के वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
kathmandu-weather-2080-11-0.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरीसहितको छड्के वर्षा भएको छ । गत आइतबारदेखि वातावरण दूषित भएर राम्रोसँग घाम लाग्न नसकेको भए पनि आज अपरान्ह भने वर्षा भएको हो । 

ठूलो वर्षा हुन नसके पनि यो वर्षाले केही राहत भने दिएको छ । गत पाँच दिनदेखि काठमाडौँ विश्वकै सबैभन्दा दूषित सहरमा गनिँदै आएको छ । मेघगर्जनसमेत भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि हल्का वर्षा भएको जनाएको छ । 

महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । 

“यो समय प्रि–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने हुँदैन । मुलुकका केही स्थानमा वर्षा हुन्छ”, उनले भने “ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायुप्रदूषण न्यूनीकरणमा भने टेवा पुग्ने देखिँदैन ।”
 
उनका अनुसार लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको उनको भनाइ छ । 

कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । माहाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

राति भने कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ