arrow

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
kp-oli-11-21.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्।

शुक्रवार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औँ जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडीकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताए।

उनले देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरू सफलतापूर्वक अघि बढेको जिकिर गरे। उनले केही समयअघि एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको भन्दै उनीहरूप्रति दया लागेर आउने बताए। उनले एमाले र देशलाई ठिक बाटोमा अघि बढाउन अझै २० वर्ष आफूले सक्रिय भएर काम गर्ने बताए। उनले देशबाट गरिबी, भोकमरी हटाएपछि मात्रै नेकपा एमालेले सुस्केरा हाल्न सक्ने बताए।

उनले भने, ‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ। तर पार्टी आफ्ना आफ्ना छन्। पार्टीका आफ्ना आफ्ना नीति छन्। पार्टीका आफ्ना आफ्ना उद्देश्य छन्। आफ्ना उद्देश्य नछोडीकन, आफ्ना नीति नछोडीकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ। हामीले कदम चालेका छौँ। हामी सफलतापूर्वक अघि बढेका छौँ। कसैले एमाले बिनाको नेपाल भने, कठै बर। माया लाग्छ, एमाले बिनाको नेपाल। कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ। केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला। मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला काला हुन थाले भनेर। अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ। यो रोपेको होइन, आफैँ पलाउन थालेको छ। मैले भने नि २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ। नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ। अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ । झिँगाहरू सरापी रहेका छन्, नेकपा एमाले झन् बलियो भएर अघि बढेको छ।’

अध्यक्ष ओलीले आगामी चुनावमा एमाले एक्लैको बहुमत आउने गरी लाग्न पार्टीका नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ