arrow

गौशालाको मिठाई पसलमा टुङ्गो लागेको एमाले माओवादी गठबन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
prachanda-oli-gaushala-meet-.jpg

काठमाडौँ। मध्य पहाडी लोक मार्गको यात्रा सकेर काठमाडौँ फर्केका केपी शर्मा ओली उत्साही हुनुपर्नेमा निराश थिए। एक हजार ७ सय ७९ किलोमिटर लामो मध्य पहाडी लोक मार्ग पार गर्दै १ पुसमा चिवाभञ्ज्याङमा सकिएपछि थकित ओली पूरै निराश देखिन्थे। मङ्सिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ पुस १ गते १८ औँ दिनमा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भयो। त्यति बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तलन गरेपछि यात्रा औपचारिक रूपमा समापन गर्दै यात्रा उपलब्धिमूलक, उत्साहजनक भएको बताएका थिए । समापन भएकै दिनदेखि उनी थकान मेटाउन आराम गर्न थाले। दुई दिनसम्म सार्वजनिक कार्यक्रममा कहीँ पनि ननिस्केका ओलीले केही विदेशी र केही स्वदेशी कूटनीतिज्ञ र गुप्तचरका अधिकारीहरूसँग भने हलुका भेटघाट गरे। ‘स्वदेशी र विश्वासपात्र मानिएका केही पूर्व गुप्तचरहरूले पछिल्लो राजनीतिक अवस्थाबारे ओलीलाई जानकारी गराएका थिए’, स्रोतले भन्यो।

पुस ४ गते बालकोटमा एमाले अध्यक्ष ओलीले पदाधिकारीहरूलाई अनौपचारिक रूपमा बोलाएका थिए। त्यसको भोलिपल्ट पुस ५ गते एमाले सचिवालय बैठक राखिएको थियो। पुस ८ गते एमालेले मध्य पहाडी यात्राबारे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरेको थियो। एमाले मध्य पहाडी यात्रामा जनताको उत्साहपूर्वक सहभागिता जनाएकोमा खुसी थियो, त्यतिकै कार्यकर्ताहरूले अनावश्यक रूपमा ओलीलाई घेराबन्दी गरेकोमा पनि एमालेका शीर्ष नेताहरू असन्तुष्ट थिए । पुस ४ को उपलब्ध पदाधिकारी भेला र पुस ५ को सचिवालय बैठकमा यी विषयमा प्राथमिकताका साथ छलफल भएको थियो।

यद्यपि यी विषयहरूलाई कोही पनि नेताहरूले बाहिर सार्वजनिक गरेका थिएनन्। पुस ५ को बैठकमा एमाले अध्यक्ष ओलीले अहिलेको अवस्था यही गठबन्धन (तत्कालीन काँग्रेस–माओवादीसहित) आगामी चुनावसम्म रहने सङ्केत गर्दै ०८४ मा पनि एमालेलाई बहुमत आउन नदिन लागेको पक्ष निकै बलियो रहेको भन्दै निराश व्यक्त गरेका थिए। साथसाथै उनले अहिलेको गठबन्धन भत्काउन सके पहिलो चरणको सफलता हुने पनि बताएका थिए। ‘ओलीले निकै निराशा व्यक्त गरेका थिए, त्यही गठबन्धन कायम रहने, ०८४ सम्म नै काँग्रेस माओवादीको सहकार्य हुने तथा एमालेलाई कुनै पनि हालतमा सरकारमा जान नदिने तत्त्व सक्रिय रहेको र त्यो बलियो रहेको विफ्रिङ थियो, त्यति बेला उहाँको मुहारमा कुनै उत्साहको भाव थिएन’, त्यो बैठकमा सहभागी एक पदाधिकारीले भनेका थिए।

त्यसपछि नेकपा एमालेले लामो समय गठबन्धन सरकारका विरुद्ध जेहाद छेडिरह्यो। कतिसम्म भने जनवर्गीय सङ्गठनलाई फागुनदेखि निर्णायक आन्दोलन गर्न निर्देशन दियो। युवा सङ्घ र अनेरास्ववियूलाई कार्यक्रम सार्वजनिक गर्न समेत लगायो। युवा सङ्घले सरकार विरुद्ध एक महिने कार्यक्रम नै सार्वजनिक गर्‍यो। तर ओलीले बाहिर अभिव्यक्ति दिएजस्तो भित्र भने कडा नीति लिएनन्। उनले आफ्ना विभिन्न सूत्रमार्फत माओवादीका नेताहरूले भेट्न चाहेको बेला भेट्न अनुमति दिइरहे।

यो क्रम माघको पहिलो साताबाट सुरु भयो। माओवादीका उपमहासचिव वर्षमान पुनले एमालेका दोस्रो तहका नेताहरूसँग निरन्तर सम्पर्क गरिरहे । एमालेहरूले वर्षमानको कुरालाई त्यति सकारात्मक र विश्वासमा लिन सकिरहेका थिएनन्। यद्यपि एमाले नेताहरू प्रदीप ज्ञवाली, विष्णु पौडेल, रघुवीर महासेठ लगायतले वर्षमान पुनसँगको छलफललाई अघि बढाइरहे।

माघ दोस्रो साता घटनाक्रमले अलिक विकसित रूप लिएपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीसँग गोप्य भेटघाट गर्न चाहेका थिए। तर बालुवाटारमा भेटघाटको चाँजो पाँजो मिल्न सकेको थिएन। उनीहरूबिच बालुवाटारका गोप्य भेटघाट हुन सकेको थिएन। सत्य निरूपण तथा मेलमिलापसँग सम्बन्धित (टिआरसी) विधेयकसँग सरोकार राख्ने विषयमा मात्रै छलफल हुन थाल्यो। पुनसँगको भेटघाट तीव्र हुन थालेपछि एमालेका नेताहरूले गठबन्धन छाडेर आएमा माओवादीलाई  सहयोग गर्न सक्ने सिग्नल दिन थाले। त्यसपछि एमाले अध्यक्ष ओलीलाई थाहै नदिई माओवादी अध्यक्ष प्रचण्डले माघ लाग्दा नलाग्दै तत्कालीन गठबन्धनको बैठकमा एमालेलाई राष्ट्रिय सभाका दुई सिट दिनुपर्ने प्रस्ताव गरे। गठबन्धन बैठकमा माओवादीले सो प्रस्ताव गरेको थाहा पाएपछि एमाले थप लचिलो बन्दै गयो। माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन थियो। माओवादीले एमालेसँगको सहकार्यलाई यसरी वातावरण बनाउँदै लग्यो।

माघको ११ गते राष्ट्रिय सभाको निर्वाचनमा कोसी प्रदेशमा एमालेका सांसद विजयी हुनु र काँग्रेसले माओवादीका उम्मेदवारलाई मत नहालेपछि माओवादी र काँग्रेसबिच असमझदारी बढ्दै गयो । जसको परिणाम माघको अन्तिम साता एमाले अध्यक्ष ओली र प्रचण्डले व्यापारी उपेन्द्र महत्तोको घरमा गोप्य भेटघाट गरे । भाटभटेनीस्थित महत्तोको घरमा उनीहरूबिच करिब अढाई घण्टा वार्ता भएको थियो। बालुवाटार पुगेका ओलीलाई लिएर सुरक्षा गार्डलाई छलेर उनीहरू दुवै जना एउटै गाडीमा महत्तोको घरमा पुगेका थिए । त्यहाँ वर्षमान पुन र रघुवीर महासेठले तयारी अवस्थामा राखेको कोठामा बसेर कुराकानी गरेका थिए। यसको जानकारी एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थियो। पौडेलले यो समीकरणको पहिलो खाका बनाएर ओलीलाई दिएका थिए। त्यस बेला गठबन्धनको खाकाबारे छलफल भएको थियो। उनीहरूबिच त्यसपछि बालुवाटार र सिंहदरबारमा मात्रै औपचारिक कुराकानी गर्नै सहमति भएको थियो। ‘माघ अन्तिम साता दुई नेताहरुबीच भएको कुराकानीलाई मूर्त रूप दिन एमाले उपाध्यक्ष पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र माओवादीका वर्षमान पुन करिब एक दर्जन पटक छलफल गरेर दुवै अध्यक्षलाई ब्रिफिङ गरेका थिए’, स्रोतले भन्यो।

जति बेला उनीहरूबिचको संवादले मूर्तरूप लिँदै थियो फागुन १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाल सरकारको विषयमा कडा टिप्पणी गरे। पार्टी केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै ओलीले कुनै व्यक्ति, कुनै पार्टीका विषयमा सरकार नै निर्लज्ज हुने काम भएको बताएका थिए। ‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिङ्गै सरकार नै निर्लज्ज हुने?’ ओलीले भनेका थिए। सोही पत्रकार सम्मेलनमै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्ष्य गरेर भनेका थिए, ‘सरकारले नैतिकता नै छाडिदिने? भ्रष्टाचारको अभियोग लागेकाहरू झन्डा हालेर हिँडिरहेका छन्।’ आइतबार पनि ओलीले विवादित मन्त्रीको राजीनामा आउनुपर्ने जिकिर गरे। तर प्रधानमन्त्री दाहालबारे व्यक्तिगत रूपमा भने उनले खासै टिप्पणी गरेनन्।

त्यसपछि एमालेले मध्य पहाडी यात्रामार्फत देखेका समस्या समाधानका लागि ज्ञापन पत्र बुझाउने क्रममा दाहालसँग बालुवाटारमा भेटघाट गरेको थियो । त्यति बेला लेखिएका विषयलाई सम्बोधन गर्न आफू तयार रहेको मात्र बताएनन्, सार्वजनिक रूपमै मध्य पहाडका समस्या साझा भएको अभिव्यक्तिसमेत दिए। त्यसले पछिल्लो चरणमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल एमालेप्रति नरम रूपमा प्रस्तुत हुँदै आएको देखाएको थियो।

यही समयमा नेपाली काँग्रेस महासमिति बैठकको आसपासमा अल़्मलियो । काँग्रेसभित्र २०८४ सालमा हुने निर्वाचन लक्षित बहस चलिरहेको थियो। त्यस क्रममा माओवादीका नेताहरूले पनि आफूहरू एक्लै चुनाव लड्न सक्ने हैसियतमा रहेको प्रतिक्रिया सार्वजनिक गरे। उता काँग्रेसमा गठबन्धन गर्ने कि नगर्ने बहस चलिरहेका बेला अहिलेको गठबन्धनमा कुनै पनि असर नपर्ने आश्वासनसमेत प्रधानमन्त्रीले पाइरहे। तर त्यसबीचमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग औपचारिक रूपमै निरन्तर भेटघाट गरे। उनले कहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित त कहिले ओलीसँग मात्रै भेटघाट गरे। एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एक थरी नेताहरू सक्रिय रहेको समाचारहरू सार्वजनिक हुन थाले।  

एमालेका नेताहरूले वर्तमान गठबन्धनबारे प्रधानमन्त्री दाहालको धारणा सार्वजनिक नभएसम्म माओवादीसँगको सहकार्यबारे सोच्न पनि नसकिने बताउँदै एमाले र माओवादी नेताहरुबीच भएको सम्पर्कलाई अलमलमै राखिरहे।  गठबन्धनबारे दाहालको धारणा सार्वजनिक भएपछि मात्र त्यसबारे एमालेले सोच्न सक्ने ती नेताहरूको भनाई निरन्तर सार्वजनिक हुन थाल्यो। माओवादीले शीर्ष नेताहरूको भेटघाटलाई गोप्य नै राखिरह्यो।

जब फागुन १८ गते एमाले अध्यक्ष भरतपुर महोत्सवमा सहभागी भए। महोत्सवमा सबै दलका शीर्ष नेताहरू र पूर्व प्रधानमन्त्री सहभागी भए। त्यसमा सहभागी हुन, तत्कालीन गठबन्धन दलका दुई प्रधानमन्त्री माधव नेपाल र झलनाथ खलाल १७ गते साँझ भरपुर पुगे। देउवा १८ गते बिहान गए, ओली १८ गते मध्यान्ह पुगे। प्रधानमन्त्री दाहाल भने १७ गते दिउसो पुगे । भरपुर महोत्सवमा गठबन्धनका प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरू सबैले सम्बोधन गरे। त्यसमा ओलीले पनि सम्बोधन गरेर भरतपुरकी मेयर रेणु दाहालको प्रशंसा गरे। ओलीले चाहिँ रेणु दाहालको पक्षमा प्रशंसाको शब्द खर्चेपछि मुलुकको राजनीतिमा केही केही चलखेल छ भन्ने अनुमान भइरहेको थियो।

खास गरी फागुन १६ गते मध्यान्ह गौशालास्थित सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेलले सञ्चालन गरेको मिठाई पसलमा ओली र प्रचण्डको गोप्य भेटघाट भएको थियो। माघको अन्तिम सातापछि फागुन १६ गते दोस्रो पटक त्यहाँ मिठाई खाएर भेटघाट भएको थियो। त्यहाँ उनीहरूबिच २ घण्टा कुराकानी भएपछि उनीहरू छुट्टिएका थिए।

त्यसपछि ओली भरतपुर पुगेर महोत्सवमा सहभागी भएका थिए। त्यही महोत्सव सकेर फागुन १९ गते उनीहरूबिच उनै पोखरेलको मिठाई पसलमा तेस्रो गोप्य भेटघाट भएको थियो । त्यही क्रममा अहिलेको गठबन्धनलाई अन्तिम रूप दिइएको थियो। एमाले उपाध्यक्ष पौडेल र माओवादी उपमहासचिव पुनले तयार पारेको गठबन्धनको खाका र भोलीका दिनमा एमाले–माओवादी सहकार्यको विषयवस्तुलाई दुई नेताले अन्तिम रूप दिएका थिए। त्यसकै परिणाम फागुन २१मा एमालेसहितको नयाँ गठबन्धन बन्यो। यो गठबन्धनले एक महिना पार गरिसकेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ