arrow

अमेरिकी पैसा अधार्मिकता कि ईसाईकरणमा ?

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० चैत १७ शनिबार
badri-ojha-80-12-17.jpg

संयुक्त राज्य अमेरिकाका पूर्वसभामूख न्युट गिंग्रिटले २४ जुलाई २०२२ मा ट्विटरमार्फत राष्ट्रपति जो बाइडेनलाई आरोप लगाए – बाइडेन प्रशासनले विदेशमा अधार्मिक जत्थालाई बढावा दिन पाँच लाख अमेरिकी डलर पठायो  । 

यसबारे निकै बहस भयो । रिपब्लिकन पार्टीका सांसदले अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ डमोक्रेसी, ह्युमन राइट्स एन्ड रिलिजियस फ्रिडमका सहायक मन्त्रीलाई चिठी लेखेर स्पष्ठीकरण मागे । ती माननीयहरूमा सदनको विदेश समितिका अध्यक्ष माइकल म्याक कल, विश्व स्वास्थ्य, विश्व मानवअधिकार र अन्तर्राष्ट्रिय संघसंस्था सम्बन्धी उपसमितिका अध्यक्ष क्रिस्टोफर स्मिथलगायत  थिए । 

उनीहरूले सोधेका विभिन्न प्रश्नमध्ये पाँचौँ प्रश्नमा नेपालमा सन् २०२३ मा दिइएको भनिएको तालिम सम्बन्धी कागजात किन सार्वजनिक नगरेको भन्ने थियो । यसको जवाफ नदिइएको रिपब्लिकन पार्टीको आरोप छ । 

रिपब्लिकन सिनेटर ब्रायन मास्टले सरकारले नेपालमा पठाएको भनिएको पाँच लाख डलर सम्बन्धी जानकारी लुकाएर अमेरिकी जनताको सूचनाको अधिकार हनन् गरेको आरोप लगाउँदै आफ्नै युट्युब च्यानलमा सन्देश राखेका छन् । 

उनले राखेकामध्ये एउटा भिडियोमा अमेरिकी सरकारका प्रतिनिधिका रूपमा स्रोत व्यवस्थापन सम्बन्धी उपविदेशमन्त्री रिचार्ड वर्मासँग स्पष्टीकरण लिएका छन् । वर्माले नेपालमा कुनै पनि किसिमको यस्तो रकम पठाएको आफूसँग प्रमाण नभएको बताएका छन् । 

मास्ट लगत्तै उनको कुरा काट्दै एकजना माननीय बोले । उनको भाषा सुन्दा सत्तारुढ दलका नेता झैँ लाग्छ । उनको नम्बर प्लेटमा रेप क्रो अथवा प्रतिनिधि वा सांसद क्रो भन्ने देखिन्छ । उनले भने —यहाँ लुकाउनुपर्ने कुनै कारण छैन । अमेरिकाले धर्म मान्न पाउने व्यक्तिगत अधिकारलाई समर्थन गर्दछ । 

सांसद क्रोपछि फेरि सांसद मास्टले कुनै कागजात पढेर सुनाए । त्यसमा ‘यस परियोजनाको समाप्ति सम्ममा नेपालमा अधार्मिक मानिसको संख्या यति हुनेछ’, भन्ने छ । पछाडिबाट कोही बोल्दैथिए । सुन्दा लाग्छ आइएम ह्यापियर, अथवा म अझ खुशी छु । 

यता काठमाडौँमा अमेरिकी दूतावासले सन् २०२४ का लागि युवा परिचालन भनेर ७५ हजार अमेरिकी डलरको कोष खर्चका लागि प्रस्ताव माग गरेको थियो । यो रकम पनि सोही पाँच लाखमध्येकै होला वा नहोला । अन्य रकम केमा खर्च भयो भन्ने जानकारी इन्टरनेटमा भेटिँदैन । 

नेपालका केही मानिसहरू, खासगरी हिन्दूवादीहरू अमेरिकी रकम नेपालमा ईसाईकरणका लागि खर्चिएको आरोप लगाउँछन् । 

यसमा अमेरिकी जवाफ के छ भन्ने इन्टरनेटका सर्च इन्जिनहरूले देखाउन सकेका छैनन् । भए नेपालस्थित अमेरिकी दूतावासले जानकारी दियोस् । आजको विश्वमा हामी जस्ता गरिब गुरुवाको अभिभावक अमेरिका नै हो । यसमा कसैले पनि आशंका नगरौँ तर कट्टु लगाउन ढंग पुगेन भन्दैमा कट्टु तानेर लाज नदेखाऊँ । 

अमेरिकाले सार्वजनिक महत्वका सूचनाहरू सार्वजनिक गर्दछ तर यो जानकारी पाइएन भन्ने प्रमाण माथि उल्लेखित अमेरिकी माननीयहरूको पत्रबाट प्रस्ट हुन्छ जस्तै लाग्छ । इन्टरनेट, जो अमेरिकी सेनाले शुरू गरेको मानिन्छ, त्यसमा सर्च गर्दा कुनै प्रमाण भेटिँदैन । 

यता नेपालको जनसंख्याको तथ्यांकलाई विश्लेषण गर्दा बितेका ३० वर्षमा नेपालमा ईसाई जनसंख्या निकै बढेको छ ।  यस बीचमा बुद्धमार्गीको जनसंख्यामा एक प्रतिशतले कमी आएको तथ्य छ ।  

सन् १९९१ मा ०.१७ प्रतिशत ईसाई थिए भने सन् २०२१ मा आइपुग्दा १.७६ प्रतिशतले इसाई जनसंख्या बढ्यो । हुन सक्ला चाहेरै वा लोभ लालचमा धर्म परिवर्तन भयो । दश प्रतिशतबाट बुद्धमार्गी नौ प्रतिशतमा झरे । 

भनौँ हालकै जनसंख्यालाई आधार मान्दा दुई करोड ९१ लाखको नौ प्रतिशत भन्दा करिब २८–२९ लाखबाट तीन लाख बुद्धमार्गी घटे भने तीन लाख इसाई बढे । हालको तथ्यांकअनुसार १.१७ प्रतिशतको अर्थ हो करिब साढे तीन लाख ईसाई छन् । 

अब अमेरिकाकै प्यु सेन्टरको अनुसन्धानको कुरा गरौँ । बितेका तीन दशकमा अमेरिकी जनतामध्ये जो ईसाई धर्ममा शुरूमा ९० प्रतिशत थिए, हाल घटेर ५९ प्रतिशतमा झरे । 

यो पंक्तिकारको दाबी होइन । जो कोहीले पनि लिंकमा हेर्न मिल्छ । यदि अमेरिकामा इसाई घटे भने नेपालमा ईसाई बढाएर पूर्ति गर्न खोजिएको हो ? यो स्तम्भकारको प्रश्न होइन । यो तमाम नेपालका हिन्दूवादीहरूको प्रश्न हो । 

स्तम्भकार हिन्दू कट्टरपन्थी हो कि भन्ने भ्रम नहोस् । जन्मले हिन्दू बनाइएको मानिस हुँ । व्यक्तिगत रुपमा यो स्तम्भकारको धर्म छैन । म सन्यासी हुँ । मेरो जात पनि छैन । 

सन् २०२४ को चुनावमा यदि डोनाल्ड ट्रम अमेरिकाको राष्ट्रपति बने भने नेपालका अधार्मिकका लागि पठाइएको विवादास्पद रकम फिर्ता होला त ? 

यहाँ एउटा गम्भीर कुरो छ । जुन देशमा एथिस्टहरू बढेका छन् त्यो देशले एउटा गरिब मुलुकका अञ्जान नागरिकलाई धर्म परिवर्तन गराउन वा धर्म मास्न रकम दिन मिल्छ ? मिल्छ भने कसरी ? 

माननीय मास्टले एउटा गम्भीर प्रश्न उठाएका छन् । अमेरिकी जनताको कर यसरी खर्च गर्न मिल्छ ? त्यो त उनीहरूको कुरो भो । 

यदि नेपालमा सो पैसा आएको भए केमा खर्च भो होला त ? कुनै संघसंस्थाले पाए कि ? मानववादीहरू जसलाई सिद्धान्ततः एथिस्ट मानिन्छ, उनीहरूले पाए ? (लेखक नेपाली किसानको सिक्ने क्षमता विषयमा पोस्ट डक्टरल अनुसन्धानमा संलग्न छन् ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ