arrow

नेपाल र आयरल्याण्डका ए टिम

बम विष्फोटक, शतकले पनि जितेन नेपाल

बमले बनाए ५६ बलमा १०६ रन, शेखले ४९ रन बनाएर दिए साथ, चार खेलाडी शून्यमा आउट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
lokesh-bom-irelandA.jpg

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल २१ रनले पराजित भएको हो । 

२२३ रनको विशाल चुनौती पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रन बनायो ।  

नेपालका लागि ओपनिङ ब्याट्सम्यान लोकेश बमले शतकीय इनिङ्स खेले । बम विष्फोटक ब्याटिङ गर्ने क्रममा ५६ बलमा ८ छक्का र ९ चौकाको मद्धतले १०६ रन बनाउन सफल भए । 

चौथो विकेटका लागि बमसँग मिलेर १२१ रनको साझेदारी गर्ने क्रममा आरिफ शेखले २६ बलमा ४९ रन बनाए । 

अन्य ब्याटर भने टिक्न सकेनन् । कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन बनाउँदा अर्जुन घर्ती र बसिर अहमदले समान ३ रन बनाए । किरण ठगुन्ना २ रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।

देव खनाल, कमल ऐरी, राशिद खान र हेमन्त धामी शून्यमै आउट भए । फिओन ह्यान्ड र म्याथ्यु हम्फेरेसले समान ३–३ विकेट लिए । 

यसअघि कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दै फितलो प्रदर्शन गर्यो । आयरल्याण्डले शानदार ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २२२ रन बनायो । 

पिटर मूरले ३२ बलमा ४९, कप्तान निल रकले २३ बलमा ३८,  काड कार्मिचलले २९ बलमा ३८, स्टेफेन डाहेन्रीले १६ बलमा ३४, ग्यारेथ डेलानीले १४ बलमा अविजित रहँदै ३० तथा जाभिन होयेले ६ बलमा अविजित रहँदै १८ रन बनाए । 

नेपालका लागि कमल ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए । 

बिहीबार वर्षाका कारण हुन नसकेको खेल शुक्रबार भएको हो । 

नेपाल क्रिकेट संघ क्यानका अनुसार बिहीबार र शुक्रबार गरी गरी दुई खेल हुनुपर्ने भए पनि अब भने नयाँ तालिकाअनुसार शुक्रबार, शनिबार र सोमबार गरी तीन खेल हुनेछ । 

नयाँ तालिकाअनुसार चैत २१, २३ र २५ गते एक दिवसीय पनि हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ