arrow

थुप्रै समस्या थाँती राखेर नारायणकाजी चीनमा, राज्यको खर्चमा सबैजसो कार्यक्रम पार्टीगत

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
narayankaji-10-26.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यतिबेला हमास आक्रमणबाट विपिन जोशी इजरायलमा बेपत्ता छन् । उनको खोजीका लागि आफन्तहरुले दिनहुँ सरकारसँग याचना गरिरहेका छन् । मुलुकको परराष्ट्र मन्त्रालय यसका लागि कानमा तेल हालेर बसेको छ । 

यस्तै रुस–युक्रेन युद्धमा सयौँ नेपालीहरु बेपत्ता र घाइते अवस्थामा छन् । यतिमात्र होइन परराष्ट्र मन्त्रालयमा अनगिन्ती समस्याहरु रहेका छन् ।

परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षा नीतिको एउटा खाका तयार छैन । रक्षा नीति बन्दै गरेको भए पनि परराष्ट्रको कुनै सहयोग छैन । विस्तारै उद्योग–व्यापार, पर्यटन, अर्थलगायत अन्य नीति पनि बन्लान् तर नीतिगत सामञ्जस्यका लागि परराष्ट्र नीति बन्दा तालुकदार मन्त्रालयसँग कति समन्वय गरियो र अन्य नीतिलाई परराष्ट्र नीतिसंगत बनाउन कति सहयोगी भइयो भन्नेमा निर्भर गर्छ । 

साथै परराष्ट्र मन्त्रालय संघीय सरकार मातहत भएको र प्रदेशमा त्यही प्रकृतिको अन्य संरचना नभएकाले प्रदेश सरकारका (विकास, आर्थिकजस्ता) नीतिमा सामञ्जस्य निर्माणमासमेत परराष्ट्र मन्त्रालयको समन्वय जरुरी छ । 

विशेषतः परराष्ट्र सम्बन्धी खास विषय बाहेक परराष्ट्र मामिलासँग प्रत्यक्ष जोडिएका अन्य क्षेत्रगत विषयलाई लिएर अन्य देशसँगको वार्ता, छलफल, सहमति र कार्यान्वयनजस्ता कामकारबाहीमा परराष्ट्र मन्त्रालयको मुख्य नभई समन्वयकारी भूमिकामात्र हो, त कसरी परराष्ट्र नीति अन्य क्षेत्रगत विषयका ‘नीतिको पनि मूल नीति’ बन्न सक्छ भन्ने कुरालाई ध्यान दिनुको साटो उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिन लामो औपचारिक भ्रमणमा आइतबार चीन प्रस्थान गरे ।

नयाँ समीकरणसँगै परराष्ट्र मन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठको यो पहिलो विदेश भ्रमण भए पनि छिमेकी मुलुक चीनको भ्रमण गरेको एक वर्ष नपुग्दै राज्यको खर्चमा उनी नौ दिने भ्रमणमा त्यता पुगेका हुन् । 

नयाँ समीकरणसँगै चीनसँगको सम्बन्ध सरकारको प्राथमिकतामा राखेकै कारण राज्यको करोडौँ रुपैयाँ खर्च हुने गरी चीन भ्रमणमा पुगेका छन् । उनको भ्रमणबाट देशले कुनै पनि उपलब्धि हासिल गर्ने कार्यक्रम रहेको छैन ।

भ्रमण तालिकालाई हेर्ने सबैजसो कार्यक्रम पार्टीगत नै रहेका छन् । सरकारी तहबाट कुनै पनि महत्वपूर्ण कार्यक्रम र सहयोग आदानप्रदानका कार्यक्रम देखिएका छैनन् । 

उपप्रधानमन्त्री श्रेष्ठको बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआन प्रान्तमा चीन सरकारका उच्च अधिकारीदेखि चिनियाँ कम्युनिस्ट पार्टीका महत्वपूर्ण नेतासँग नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ ।

त्यहाँ औपचारिक सहयोग आदानप्रदानको कार्यक्रम तय भएको छैन । गत असोज ६ देखि १३ सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बेइजिङ, छोङछिङ, तिब्बत र सिचुआनको भ्रमण गरेका थिए । यही रुटमा उपप्रधानमन्त्री श्रेष्ठको भ्रमण गराइएको छ ।

बेइजिङमा श्रेष्ठको चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताका नेता वाङ हुनिङ, चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हैयानसँग भेटवार्ता तय भएको छ । 

सोमबार बेइजिङ पुगेलगत्तै उनले चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरीयताका नेता (स्थायी समिति सदस्य) वाङ हुनिङसँग भेटवार्ता तय भएको हो । 

उनी नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)का अध्यक्ष हुन् । 

सोमबारै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

हैयानले श्रेष्ठको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । मंगलबार साँझ उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नेछन् । 

प्रचण्डको भ्रमणमा बेइजिङमा भएका १२ सहमतिपत्र÷सम्झौता कार्यान्वयनका विषयमा उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा औपचारिक छलफल गर्ने कार्यक्रम छ  ।

उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार बिहान हुवाए रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा जाने कार्यतालिका रहेको छ । 

त्यहाँबाट नेपाली राजदूतावास पुगेर उनले लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार उनी नेपाली राजदूतावासद्वारा आयोजित दिवाभोजमा सहभागी भएर अपरान्ह छोङछिङ जानेछन् । 

साँझ छोङछिङका मेयर तथा पार्टी सेक्रेटरी युयान जियाजुनले स्वागत गर्नेछन्  । उनीसँग श्रेष्ठको रात्रिभोजसहित छलफल हुनेछ । 

बिहीबार बिहान उनी चिनियाँ प्रथम प्रधानमन्त्री चाउ एन लाईको निवासको भ्रमणमा जानेछन् । शुक्रबार उनी ल्हासा जाने कार्यक्रम छ  । 

दिनमा नेपाली महावाणिज्य दूतावासको भ्रमण गर्ने र साँझ तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टी सेक्रेटरी तिब्बतको ल्हासास्थित सीपीसी पार्टी सेक्रेटरी वाङ छुङछेङसँग भेटवार्ता र रात्रिभोज हुनेछ ।  

शनिबार मौसम र श्रेष्ठको स्वास्थ्यले साथ दिएमा कैलाश मानसरोवर जाने कार्यक्रम छ । त्यहाँ उनले भगवान् कैलाशको पूजापाठ गर्नेछन् । 

भोलिपल्ट अर्थात् आइतबार अपरान्ह ल्हासाबाट उनी छेन्दु पुग्ने कार्यक्रम छ । साँझ सिचुआन प्रान्तको छेन्दुमा पार्टी सचिव वाङ सियाओईले श्रेष्ठलाई रात्रिभोजसहित स्वागत गर्ने कार्यक्रम छ । 

भ्रमणमा नेपाल र चीनबीच कुनै पनि विषयमा औपचारिक सहमति वा हस्ताक्षर हुने कार्यसूची छैन । 

‘उहाँको भ्रमण भेटघाटमै सीमित छ औपचारिक सहयोग आदानप्रदानको कुनै कार्यक्रम छैन’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

श्रेष्ठको प्रतिनिधिमण्डलमा परराष्ट्रको उत्तरपूर्वी महाशाखा हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल, श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, शिष्टाचार अधिकृत, महाशाखाका नोट टेकर तथा बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, नियोग उपप्रमुख सुरेन्द्रकुमार यादव, कन्सुलर सविता नकर्मी सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ