arrow

बाग्लुङ बस दुर्घटनामा पत्रकार परियारको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
bikram-pariyar-facebook.jpg

पोखरा । बाग्लुङको निसीखोला गाउँपालिका वडा नं. ६ मा आइतबार साँझ भएको बस दुर्घटनामा एक जना पत्रकारले पनि ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नं. ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका छन् । परियार अन्नपूर्णपोष्ट दैनिकको रुकुम संवाददाताका रुपमा कार्यरत थिए । उनी नेपाल पत्रकार महासंघ रुकुम शाखाको सह-सचिवसमेत हुन् ।

परियारसहित दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । जसमा बसधनी मुसीकोट-२ रातामाटाका बबी ददेल नेपाली र चालक रोल्पा घर भएका सुवास गौतम भनिने मानसिंह विक रहेका छन् ।

यसैगरी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुमपश्चिम मुसीकोट-१ की २७ वर्षीया विनिता केसी, मुसीकोट-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसीकोट-३ साँखकी कल्पना केसी, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जनको दुर्घटनामा परी मृत्यु भएको हो ।

सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २० जनाको धौलागिरि अस्पताल बागलुङ र पाँच जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले पत्रकार परियारको निधनप्रति दुःख व्यक्त गर्दै परियारको निधनले आफू निकै मर्माहत स्तव्ध भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो बेलुकी भएको बस दुर्घटनामा विक्रम परियारको निधनले स्तब्ध बनाएको छ । भाइ विक्रमको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ