arrow

प्रचण्ड नीति 

कांग्रेसको पिठ्युँमा बसेर प्रहार गर्ने यत्नमा प्रचण्ड

राष्ट्रिय सभा अध्यक्षमा आफ्नै पार्टीको उम्मेदवारी, सिटौलालाई धोका ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
prachanda-time-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेसँगै झक्कु सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेपछि सुवेदीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । 

२०७९ सालमा नेपाली कांग्रेससँग गठबन्धन गरेर अहिलेको सरकार हाँकिरहेको माओवादीले राष्ट्रिय सभामा कांगेसलाई धोका दिएर एक्लै अघि बढ्ने निर्णय गरेको हो । 

संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधि नहुने भन्दै माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेको हो । 

मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष पद नछाड्न र उदार नबन्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  खबरदारी गरेपछि उनले बैठकबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार दिने निर्णय गराएका थिए । 

कांग्रेसमाथि प्रहार ?
राष्ट्रिय सभा अध्यक्षमा सत्ता साझेदार नेपाली कांग्रेसले दाबी गरिरहेको छ । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको नेताहरुले बताइरहेका छन् ।

सिटौला राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्दा पनि अध्यक्ष बनाउने गरी नै उनले उम्मेदवारी दिएको बताइएको थियो । 

त्यतिमात्र होइन सिटौला बाहेक अन्य उम्मेदवार भएमा कांग्रेसलाई अध्यक्ष नदिने र नेकपा एसले पनि आफ्नो दावेदारी नछोड्ने बताएको थियो । 

त्यतिबेला प्रचण्डलेसमेतले सिटौलाका हकमा माओवादीले पनि उम्मेदवार खडा नगर्ने बताएको सिटौला निकटका नेताहरु बताउँछन् । 

तर अहिले आएर प्रचण्डले सिटौलालाई पनि धोका दिएको रुपमा कांग्रेसले बुझ्न थालेको छ । 

यसलाई कांग्रेसमाथिको प्रहारको रुपमासमेत लिन थालिएको छ । 

गिरिजालाईजस्तै सिटौलालाई धोका ? 
सशस्त्र द्वन्द्वमा होमिएको तत्कालीन माओवादीसँग शान्ति सम्झौता गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुलुकका लागि ठूलो अनिष्ट हुनबाट जोगाएका थिए । 

माओवादीको द्वन्द्वका कारण त्यतिन्जेल १७ हजार नेपालीको ज्यान गइसकेको थियो । माओवादीले जसलाई मन पर्दैन उसलाई बाँकी राख्दैन भन्ने थियो । 

कोइरालाले त्यतिबेला कांग्रेसले चुनाव हार्दैछ भन्ने थाहा पाएर पनि राजनीतिक स्थिरताका नाममा २०६४ साल चैतमा चुनाव गराएका थिए । 

माओवादीले सबैभन्दा बढी मत ल्यायो । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए । मुलुकको पहिलो राष्ट्रपति गिरिजाप्रसादलाई बनाउनेमा गिरिजा आशावादी थिए । 

२०६२–६३ को आन्दोलनका कमाण्डर गिरिजाको विकल्प अरु कोही थिएनन् । तर प्रचण्डले गिरिजालाई राष्ट्रपति दिएनन् । 

गिरिजाबाबु बितेपछि प्रचण्डले आफूले गल्ती गरेको भन्दै कांग्रेस नेताहरुसामु पटक पटक गोहीका आँशु झारे । 

त्यसयता कांग्रेससँग दोस्रो पटक सहकार्य गरी प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसकेका छन् । 

सिटौला गिरिजाबाबुले माओवादीसँग सम्पर्क स्थापित गर्दाका गिरिजाबाबुका दूत हुन् । उनले माओवादी र गिरिजाबाबुबीचको सम्बन्ध स्थापित गर्न ठूलो मद्धत गरे । 

गिरिजाबाबुका लागि सिटौला त्यतिबेला निकै प्यारा थिए । २०६४ को चुनावमा कांग्रेस हार्दा सिटौला गृहमन्त्री थिए । 

नेपाली राजनीतिको इतिहासमा गृहमन्त्रीले चुनाव गराउँदा हारेको त्यो पहिलो पटक थियो । 

र पनि गिरिजासँगै सिटौला पनि खुशी यस अर्थमा थिए कि राजनीतिले सही गति ल्याउँदैछ । 

तर अहिलेसम्म शान्ति प्रक्रिया निचोडमा पुग्न सकेको छैन । संविधान पूर्णरुपले कार्यान्वयन हुन सकेको छैन । 

सिटौला शान्ति प्रक्रियाका बेलामा अहम् भूमिका खेलेका राजनीतिज्ञ भएकाले उनी राष्ट्रिय सभाको अध्यक्ष हुँदा राष्ट्रिय सभाको ओज पनि बढ्नेमा प्रचण्ड थिए । 

तर अचानक अहिले आएर प्रचण्डले आफ्नो धार बदल्न खोजिरहेका छन् । 

एमाले हुन सक्छ कारक
हुनत माओवादीले राष्ट्रिय सभा निर्वाचनमै कोशी प्रदेशमा माओवादीले हारेको भन्दै कांग्रेसले धोका दिएको अर्थमा बुझिरहेको छ । 

कोशीमा कांग्रेस र माओवादीको गठबन्धनबीच सौहार्दपूर्ण वातावरण बन्न सकेको छैन । जसका कारण सिटौलालेसमेत कांग्रेसका कतिपय प्रतिनिधिबाट मत पाएनन् ।

माओवादीले भने त्यसलाई रिसइबी र धोकाको रुपमा बुझ्दै कांग्रेससँगको सहयात्रा तोड्न खोजिरहेको छ । 

पछिल्लो समय प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको गोप्य भेटघाट बाक्लिँदा कतै प्रचण्डले एमालेको समर्थनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई ल्याएर अर्को कुनै षड्यन्त्र त गरिरहेका छैनन् भन्ने शंकामा कांग्रेस रहेको छ । 

त्यो भन्दा पनि जसरी गिरिजाबाबुलाई राष्ट्रपति बन्नबाट प्रचण्डले रोके त्यसरी नै सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बन्न पनि रोक्न खोजेका त हैनन् भनेर बुझ्ुन थालिएको छ । 

यद्यपि राष्ट्रिय सभा अध्यक्षका लागि अझै समय रहेकाले अहिले नै कसको को उम्मेदवार भनेर टुंगो लागेको छैन । 

गठबन्धनको बैठक बसिनसकेको अवस्थामा जुनसुकै पार्टीले पनि आफ्नो दावेदारी दिनु नौलो नभएको रुपमा पनि कांग्रेसी एकथरि विद्धानहरुले बुझ्न थालेका छन् । 

एमालेले भने यसलाई अवसरका रुपमा लिएको छ । यही मौकामा गठबन्धन टुक्राउन सके आफूलाई फाइदा हुने अड्कलतिर एमाले लाग्न थालेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ