arrow

प्रचण्डको लाइन स्पष्ट हुँदै 

कांग्रेसलाई तर्साउने, एमालेलाई फकाउने, रास्वपालाई पुल्पुल्याउने र राप्रपालाई सुम्सुम्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म केन्द्रीय समितिको बैठक सम्पन्न गरेको थियो । बैठकको शुरुआतमै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिको बारेमा ब्रिफिङ गर्दै राष्ट्रिय सभाको अध्यक्ष नेकपा माओवादीबाटै हुने भन्दै आश्वस्त पारेका थिए । उनी त्यतिमै रोकिएनन् राष्ट्रिय सभामा नेकपा माओवादी ठूलो दल भएकाले पनि अध्यक्ष अधिकार भएको दाबी गरेर केन्द्रीय सदस्यहरुलाई आश्वस्त पारे । 

केन्द्रीय समितिको बैठक सकिएको १२ दिनपछि माओवादीका सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताए । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रिय सभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए । 

उनको भनाइ र अध्यक्ष प्रचण्डका पछिल्ला गतिविधि ठ्याक्कै मिलिरहेका छन् । खासगरी एमाले अध्यक्षसँगको निरन्तर रहस्यमयी भेटघाटले सत्ता गठबन्धनमा देखिएको संशयलाई पुष्टि गरिरहेको छ । राष्ट्रिय सभाको निर्वाचनको बेला एमालेलाई पनि साथ लिएर जानुपर्छ भन्ने प्रस्ताव राख्ने प्रचण्ड अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तर भेटघाटपछि राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई चाहिने भन्दै जिकिर गरिरहेका छन् । त्यतिमात्र होइन आफ्ना अनुकूलका नेताहरुलाई सार्वजनिक रुपमा वकालत गर्न लगाइरहेका छन् । 

माओवादी उपमहासचिवसमेत रहेका शर्मा हालसम्म गठबन्धन दलहरुका बीचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको बताउँदै आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष आफूहरुकै हुने दाबी गरेका थिए ।  

‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन । ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ’, उनले भनेका छन् । 

‘कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेपछि माओवादीले एमालेसँग निरन्तर छलफल गरिरहेको छ । अहिलेको अवस्था हेर्दा एमालेलाई निरन्तर फकाउने नीति लिएको जस्तो देखिन्छ’, गठबन्धन दलका एक नेताले भने, ‘खासगरी कांग्रेससँग राष्ट्रिय सभा अध्यक्षको बार्गेनिङ गर्नका लागि एमालेसँग नजिक भएको देखियो ।’

विगतमा राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा पनि माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग नजिकिएका थिए । माओवादीका तर्फबाट झक्कुप्रसाद सुवेदीलाई अघि सारिएको छ । 

राष्ट्रिय सभाको निर्वाचन सकिएलगत्तै माओवादीका नेताहरुले कांग्रेसलाई अध्यक्ष नदिने भन्दै हिँडेका थिए । अहिले त्यसको असर गठबन्धनमा परिरहेको छ । 

माओवादी सरकारमा रहेका बेला अन्य दलसँग नचिढ्याउने उसको रणनीति देखिएको छ । खासरी नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका अध्यक्ष रवि लामिछानेसँग माओवादी लचिलो देखिएको छ । उनले रविलाई पुल्पुल्याएको देखिन्छ ।

माओवादीले राप्रपालाई पनि बोक्न थालेको छ । आन्दोलन गर्न तयार भएको राप्रपालाई माओवादी अध्यक्षले थुम्थुम्याउनु भन्दा आन्दोलन गर्न उक्साइरहेका छन् । राप्रपाले व्यवस्था विरोधी आन्दोलन गरेमा त्यसविरुद्ध सबै दल एक ठाउँमा आउनुपर्छ भन्नलाई प्रचण्डले यस्तो रणनीति लिएको स्रोतको दाबी छ । 

पछिल्लो केही घटनाक्रमले ओली र प्रचण्डलाई एक ठाउँमा उभ्याउन दुवै दलका नेताहरु सक्रिए भएका छन् । २०७९ पुस १० गते नेकपा माओवादीको नेतृत्वमा सरकार बनेपछि राजनीतिमा जसरी अविश्वासको वातावरण पैदा भएको थियो त्यसपछिका घटनाक्रमले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओली एक अर्काको विरोधमा खुलेरै लागेका थिए । 

माओवादी सशस्त्र हिंसाका बेला ओली प्रचण्डका कटु आलोचक थिए । शान्ति प्रक्रियाका शुरुआती वर्षहरुमा ओली प्रचण्डविरुद्ध आक्रामक नै बनेका थिए । तर २०७४ को प्रतिनिधि सभाको चुनावअघि ओलीले प्रचण्डसँग हातेमालो गरेर सबैलाई आश्चर्यचकित पारेर एक ठाउँमा उभिएका भए पनि पछिल्ला घटनाक्रमले उनीहरुको सम्बन्ध राम्रो देखिएको थिएन । 

समयचक्रसँगै एकाएक उनीहरु अहिले नजिक भएका छन् । ‘बाहिर हेर्दा दुई नेताको सम्बन्ध राम्रो देखिएको छैन तर भित्र भने एकापसमा सुख दुःखका कुरा साट्ने गरेका छन् । यसले आगामी दिनमा सत्ता समीकरणको सहजीकरणलाई मद्दत पुग्ने देखिन्छ’, स्रोतले भन्यो । 

एक अर्काविरुद्ध जतिसुकै विरोधमा उत्रिए पनि प्रचण्ड र ओलीको संगमस्थलहरु धेरै भएकाले पनि उनीहरु गोप्य भेटघाटमा रहने गरेकोसमेत स्रोतको दाबी छ । 

‘दुवै कम्युनिस्ट नेता हुन् । जसका कारण दुवैले नेकपासमेत बनाएर संयुक्त अध्यक्ष बने । प्रधानमन्त्रीमा आधा आधाको सहमति गरे । सहमति अनुसार नभएपछि सत्ताको लडाइँ चल्यो । जसमा ओलीले धक्का खाए । माधव नेपालको साथ लिएर प्रचण्ड अघि बढे । माधव नेपालको साथमा अहिलसम्म प्रचण्ड सरकारमा टिकिरहेका छन् भन्दा फरक पर्दैन । तर पनि माओवादीले माधव नेपाललाई प्रधानमन्त्री बनाउने दिशामा आफ्नो रणनीति बनाएको भने छैन’, गठबन्धन दलकै एक नेताको दाबी छ । 

तीन नेताको आधा–आधा कार्यकाल बाँडफाँट भएको थियो । जसमा प्रचण्ड र माधव हुँदै कांग्रेस सभापति शेरबहादुर देउवासम्म आउने छ । यद्यपि पछिल्लो रणनीतिक र गोप्य हिमचिमले प्रचण्डबाट सिधै माधव नेपाल हुँदै ओलीको हातमा सत्ता नपुग्ला भन्न नसकिने अवस्था रहेको पनि ती नेताको दाबी छ । 

२०७९ को चुनावमा ओली एक्लो परे । प्रचण्डले देउवासँग हात मिलाए । एमाले छाडेर नेकपा एस गठन गरेका माधव नेपाल पनि प्रचण्डसँग मिले । 

चुनावमा ओली नेतृत्वको एमालेले ठूलो धक्का खाएको पीडालाई पूर्ति गर्न पनि ओली यस्तो रणनीतिमा लाग्ने संभावना कायमै रहेको छ ।  

केही समय माधव नेपाललाई बाहिर राखेर सत्ताको खेलले प्रचण्ड र ओलीलाई फेरि एकै ठाउँमा पुर्यायो  । तर त्यो पनि लामो समय टिकेन । प्रचण्ड माधव नेपालको साथ लिएर फेरि देउवासँगै हात मिलाउन पुगे । 

प्रचण्डले एक वर्ष सत्ता सञ्चालन गरिसकेका छन् । यस क्रममा उनले विरोधी तह लगाउने गरी भ्रष्टाचारका घटना उठाए । माओवादी छाडेर एमालेमा लागेका टोपबहादुर रायमाझी जेल हालिए । एमाले पक्षका व्यापारीहरु समस्यामा पारिए । ओली निकै छट्पटिए । त्यसपछि ओलीको रणनीति बदलिएको हुनसक्ने ती नेताको दाबी छ । उनका अनुसार प्रचण्डको लाइन स्पष्ट छ – कांग्रेसलाई तर्साउने, एमालेलाई फकाउने, रविलाई पुल्पुल्याउने र राप्रपालाई सुम्सुम्याउने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ