arrow

आसामी साहित्यकार नीता सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
neeta-samman-pokhara-nepal.jpg

पोखरा । आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भारत असाम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटिया पोखरामा सम्मानित भएकी छन् ।

संघर्षमा कलमद्वारा आयोजित कार्यक्रममा सम्मानसंँगै उनको मुक्तकसंग्रह ‘मुटुदेखि मुटुसम्म’ लोकार्पण र तथा स्रष्टा साक्षात्कारसमेत गरिएको छ ।

कार्यक्रमका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा. विजय पण्डित, गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खडका बिखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल लगायतले भाटियालाई सम्मान र मुक्तकसंग्रह लोकार्पण गरे ।

सो अवसरमा सरुभक्तले नेपाली साहित्यको श्रीवृद्धिमा घरदेश तथा परदेशमा क्रियाशील स्रष्टा साधकको योगदान अतुलनीय रहेको बताए । उनले मुक्तकको सहर पोखरामा नेपाली भाषी असामी साहित्यकारको कृति लोकार्पण हुनु गौरवको कुरा रहेको बताए ।

क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतका अध्यक्ष डा. पण्डितले आफू बुद्ध, राम र भृकुटीको भूमिमा नेपाल-भारतको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन निरन्तर क्रियाशील रहेको बताए ।

उनले नेपाल-भारत साहित्य महोत्सव नै ‘मुटुदेखि मुटु’ सम्म पोखरा लोकार्पणको सेतु बनेर आएको दावी गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले स्रष्टा साधक सदा विष पिएर अमृत बगाउन तल्लीन रहेको बताए ।

पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पद्यराज ढकालले नेपाली भाषी स्रष्टा साधकको कृति पोखरामा लोकार्पण हुनु आफैँमा गौरवको विषय भएको बताए ।

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षेत्रीले घरदेश र परदेशलाई जोड्ने सेतु नै भाषा साहित्य रहेको धारणा राखे ।

अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबाले स्रष्टा साधक जहाँको जसरी भेट भए पनि त्यसको कदरका लागि कञ्जुस्याइँ गर्न नहुने धारणा राखे ।

मुक्तक मञ्च पोखराका संस्थापक गोविन्द गिरीले पोखराको साहित्यिक श्रीवृद्धिमा विधागत र अन्य संस्थागत गतिविधिबाट आफू पुलकित भएको बताए ।

स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले आफूलाई स्रष्टा साधक ठान्नेहरूमा देखिने कुष्ठा, आत्मश्लाघा र अहम्ले वाङ्मयिक धरातल समृद्ध हुन नसक्ने जिकिर गरे ।

स्रष्टा नीता गुरुङ भाटियाले पोखरेलीले देखाएको सद्भाव र स्नेहले थप जिम्मेवारी बोधका साथ अगाडि बढ्न प्रेरणा मिलेको धारणा राखिन् ।

कार्यक्रममा अनेसास नेपाल च्याप्टर सदस्य ऋषभदेव घिमिरे, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, शिक्षासेवी शेरबहादुर गुरुङ, समाजसेवी क्याप्टेर एलपी गुरुङ, कृष्ण रानाभाट सारथि लगायतले नीताका साहित्यिक र सांगीतिक यात्राबारे चर्चा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ