arrow

प्रचण्ड र ओलीबीच तेस्रो पटक गोप्य वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
prachanda-oli-2080-always-2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच तीन साता यता तीन पटक गोप्य भेटघाट भएको छ । माघको अन्तिम साता बालुवाटारस्थित एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतोको घरमा करिब दुई घण्टा भेटघाट भएको थियो भने दोस्रो पटक एमालेको केन्द्रीय कमिटीको बैठक अघि भेट भएको स्रोतको दाबी छ । 

त्यसैगरी तेस्रो पटक तीन दिनअघि मात्रै काठमाडौँको कुनै स्थानमा भेटघाट भएको भए पनि यी तीन वटै भेटलाई गोप्य राखिएको स्रोतले जनाएको छ । नेपाली कांग्रेसको महासमिति बैठकपछि औपचारिक र अनौपचारिक दुवै भेटघाट भएका छन् । 

‘ओली प्रचण्डको भेटघाट अत्यन्तै गोप्य छ तर अपौचारिक भेटघाटलाई टीआरसीसँग जोडिएको छ’, माओवादी उच्च स्रोतले भन्यो । कांग्रेसले आगामी निर्वाचनमा कोहीसँग गठबन्धन नगर्ने नीति अख्तियार गर्ने संभावना बढ्दै गएपछि माओवादीका अध्यक्ष प्रचण्ड एमालेसँग नजिक भएको स्रोतको दाबी छ । 

२०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर ३२ सिटमा सीमित भएको माओवादीका लागि आगामी निर्वाचन फलामको च्यूरा हुने देखिएकाले प्रचण्डले विस्तारै एमालेको साथ खोज्न थालेको स्रोतको दाबी छ । 

प्रचण्डले ओलीसँग भेटघाट बाक्लो बनाउँदै लगेपछि ओली पनि प्रचण्डसँग नरम देखिएका छन् । ओलीले प्रचण्डका विषयमा खासै कडा टिप्पणी गरिहालेका छैनन् । विवादित मन्त्रीलाई बर्खास्त नगरेको विषयमा बाहेक नकारात्मक टिप्पणी गरेका छैनन् । 

प्रधानमन्त्री प्रचण्ड पनि एमालेलाई खासै चिढ्याउने पक्षमा देखिएका छैनन् । एमालेले मध्यपहाडी यात्रामार्फत देखेका समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने क्रममा प्रचण्डले त्यसमा लेखिएका विषयलाई सम्बोधन गर्न आफू तयार रहेको मात्र बताएनन् सार्वजनिक रूपमै मध्यपहाडका समस्या साझा भएको अभिव्यक्तिसमेत दिएर एमालेलाई फकाउने कोसिस गरेका थिए ।

यसअघि पनि प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई साथ लिनुपर्छ भन्दै गठबन्धन दलसँग कुराकानी गरेका थिए । अहिले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको समयमा उनले ओलीसँग गोप्य भेटघाट गरेका छन् । त्यसको स्वतन्त्र रुपले दुवै पार्टीका नेताहरुले पुष्टि गरेका छैनन् । 

ओली र प्रचण्डको भेटघाटलाई चाँजो मिलाउने काम एमालेका सचिव रघुवीर महासेठ र माओवादीका उपमहासचिव वर्षमान पुन हुन् । ओली–प्रचण्डको भेटघाटमा भने उनीहरु सहभागी नभएको स्रोतको दाबी छ । 

महासमिति बैठकको आसपासमा कांग्रेसभित्र २०८४ सालमा हुने निर्वाचन लक्षित बहस चलिरहेको बेला प्रचण्डले ओलीसँगको सामिप्यता बढाएपछि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा संशय उत्पन्न भएको छ । 

ओली–प्रचण्डको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर औपचारिक रुपमा धेरै पटक भएको छ । २०७९ पुस १० यता गोप्य भेटघाट भने भएको थिएन । ‘माघ अन्तिम साता बालुवाटरस्थित उपेन्द्र महतोको घरमा भएको भेट नै २०७९ पुस१० पछिको पहिलो गोप्य भेटघाट भएको हो’, स्रोतले भन्यो ।  

एमाले र माओवादी मिलेर सरकार बनाउनुपर्ने कसरतमा लागेका नेताहरु नै उनीहरुको भेटघाटलाई संभव बनाएको स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ