arrow

पत्रकार राजेश खनालको ‘घुरको धुँवा’ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
rajesh-khanal-book.jpg

काठमाडौँ । साहित्यकार तथा पत्रकार राजेश खनालको संस्मरण सङ्ग्रह ‘घुरको धुँवा’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले  काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सो कृतिको लोकार्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा. वीरेन्द्रप्रसाद मिश्र, समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदन, संविधानविद् डा. विपिन अधिकारी, समीक्षक डा. ज्ञानु पाण्डे लगायतले सो कृति संयुक्त रुपमा लोकार्पण गरे ।

लोकार्पणपछि बोल्दै प्रमुख अतिथि डा. मिश्रले यो कृतिले आफूलाई सत्तरी वर्ष अघि पुर्याएको बताए । भूतकाललाई वर्तमानकालसँग र आफूजस्तालाई तराई–मधेससँग जोड्ने काम गरेको पनि उनले बताए । विज्ञानले समाज जोड्न नसक्ने तर साहित्यले जोड्ने बताउँदै उनले राजेशको पुस्तकले त्यो काम गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. विपिन अधिकारीले यो आत्मकथा भएको भन्दै सामाजिक जीवनको परिप्रेक्षमा लेखिएको उल्लेख गरे । यो कृतिको विषयवस्तु मधेसको पनि धनुषा, महोत्तरी, सिराहा, सप्तरी लगायतका क्षेत्र केन्द्रित रहेको उनले बताए ।

ती क्षेत्रमा विशिष्ट पहिचान रहेको भन्दै यो पुस्तकमा त्यो क्षेत्रको पहिचान प्रस्तुत भएको उनको भनाई छ । ‘अन्दडको टिकुला’ को उदाहरण दिँदै मधेसमा प्रयोग हुने भाषा, संस्कृति, परिवेश, त्यहाँको गरिबी यो पुस्तकमा आएको उनले सुनाए ।

समीक्षक डा. ज्ञानू पाण्डेले यस अघि नै राजेशका केही लेखहरु पढेको उल्लेख गर्दै यो पुस्तकले उठाएको विषयवस्तुसँग आफू पनि जोडिन पुगेको उल्लेख गरिन् । तराईको परिवेशमा आफू पनि भिजेको भन्दै उनले यो पुस्तक पढ्दा बाल्यकालको स्मरण गर्न पाएको बताइन् । 

राजेश खनाललाई शुभकामना व्यक्त गर्दै बाह्रखरी अनलाइनका सम्पादक प्रतीक प्रधानले मधेसी समाज कस्तो थियो आफूले पनि बुझ्न पाएको उल्लेख गरे । 

राजेशका साथी नारायण घिमिरेले तराईमै बसोबास गर्नेले पनि त्यहाँको स्थानीय भाषा यसरी उठाउन नसक्ने बताउँदै राजेशले त्यो काम गर्न सकेकोमा धन्यवाद ज्ञापन गरे । 

आफ्नो रचनागर्भ उल्लेख गर्दै कृतिकार राजेश खनालले आफन्त, साथीभाइ र शुभचिन्तकको आशीर्वाद, हौसला र प्रोत्साहनले नै यो कृति आएको उल्लेख गरे । 

२०७६ सालमा ‘घुरको धुँवा’ शीर्षकको संस्मरण छापिएको उल्लेख गर्दै त्यतिबेलै वीरेन्द्र हमालले नाटक बनाउने र श्रीओम श्रेष्ठ रोदनले यही शीर्षकमा पुस्तक निकाल्नु पर्छ भन्ने हौसला दिएको उनले सुनाए । आफू जन्मिएको, हुर्किएको ठाउँको स्मरण गर्दा नै यो कृति बनेको उनले बताए ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष तथा सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले राजेश धेरै अगाडिदेखि लेखक र साहित्यकार रहे पनि कसैले साहित्यकार नभनेको बताए । साहित्यको काम समाज जोड्ने भएको बताउँदै उनले यो पुस्तकले समाज जोडेको उल्लेख गरे । 

यो पुस्तकका अक्षर–अक्षर पढेको उल्लेख गर्दै उनले शब्दको शक्ति बलियो रुपमा यो पुस्तकमा आएको बताए । ‘यो पुस्तकले मधेसलाई राम्रोसँग चिनाएको छ यो पुस्तक पढेपछि आफूलाई पनि तराईमा जन्मिन पाएको भए हुने रहेछ भन्ने लागेको छ’ उनले भने । राजेशसँगको व्यक्तिगत सम्बन्धको बारेमा उल्लेख गर्दै आफूहरु प्रमाणित भइसकेको मित्र भएको पनि सुनाए ।

समाजका महासचिव देविका तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष चेतनाथ कँडेल (हरित) ले आमन्त्रितलाई स्वागत गरे । 

यो संस्मरण कृतिलाई कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले प्रकाशन गरेको हो । यो पुस्तकको वितरणको जिम्मेवारी भने स्वदेश प्रकाशनले लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ