नेपालले प्यालेस्टाइनलाई ४–० ले हरायो, सेमिफाइनल भिडन्त लेबनानसँग
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
673
Shares
काठमाडौँ । साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनशिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।
गएराति समूह बीका अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो । गएराति नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन्। योसँगै सावित्राको नेपालका लागि अन्तराष्ट्रिय गोल संख्या ५२ पुगेको छ। त्यसैगरी नेपालका लागि रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए ।
यो जितपछि नेपाल समूह चरणमा तीनै खेलमा विजयी हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै हारका बाबजुत प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
अब नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्ने छ। लेबनानले समूह ए मा ३ मध्ये २ खेल जितेको थियो। यो खेल मंगलबार राति नेपाली समय अनुसार १०ः४५ बजेदेखि शुरु हुनेछ ।
त्यस्तै अर्को सेमिफाइनल खेल जोर्डन र प्यालेस्टाइनबीच हुने छ । यो खेल मंगलबार नेपाली समय अनुसार बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ।