arrow

मधेस पुगेर प्रचण्डले भने- अबको नीति, कार्यक्रम र बजेट मधेसलाई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
prachanda-11-12.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेसका लागि विशेष व्यवस्था गर्ने बताएका छन् । शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिराहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने कमला नदी पुल निर्माण कार्यको शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । 

प्रचण्डले मधेसमा विकास, निर्माणको काममा गति ल्याउन आफैँ सो पुलको शिलान्यास कार्यक्रममा उपस्थित भएको पनि बताए । मधेस र मधेसी जनताको समृद्धि नभई मुलुकको समृद्धि नहुने उल्लेख गर्दै प्रचण्डले त्यसका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए । 

त्यस अवसरमा उनले मधेसबाट चुनाव लडेर दोस्रो पटक प्रधानमन्त्री भई आफूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने अवसर प्राप्त गरेकोमा गर्व लाग्ने गरेको पनि बताए । प्रचण्डले मधेसमा कृषि क्षेत्रको विकासका लागि आवश्यक सिँचाइ, बीउ बिजन, मल आदिको आवश्यक व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘मलाई गर्व छ–मैले मधेसबाट चुनाव जितेर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेँ । र, मधेसी जनताको मत लिएर म त्यो प्रधानमन्त्रीत्वकालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको पहल, त्यसको सुरुवात पहिलो निर्वाचन, त्यो अन्तरगत मधेस पनि, पहाड पनि, हिमाल पनि सबै जुटेर निर्वाचन प्रक्रिया अगाडि बढाउने मैले जिम्मेवारी प्राप्त गरेँ, मलाई गर्व छ । म तपाई मधेसी जनतालाई यतिबेला मैले भनेको थिए–मधेसी जनतासँग मेरो प्रेम छ । मैले जनयुद्धको नेतृत्व पनि मधेशबाटनै मुख्य रूपमा गरेँ । चुनाव पनि लडेँ, दोस्रो पटक प्रधानमन्त्री पनि भए । अहिले मलाई लाग्छ कि मधेसमा विकास, निर्माणले गति लिएन भने, मधेसी जनताको समृद्धि भएन भने नेपालको समृद्धि सम्भव छैन । त्यस कारण आज म तपाईँहरूको अगाडि उपस्थित हुनुको उद्देश्य पनि विकास, निर्माणलाई गति दिनु नै हो । अबको नीति, कार्यक्रम र बजेटमा मधेसको निम्ति विशेष व्यवस्था गर्ने विश्वास पनि म तपाईँहरूलाई दिलाउन चाहन्छु ।’

प्रचण्डले सो पुलको निर्माण कार्यमा ढिलाइ नगर्न पनि ठेकेदार कम्पनीलाई निर्देशन दिए । सो पुलको निर्माण कार्यमा निगरानी राख्न पनि उनले स्थानीय सरकारलाई समेत आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ