arrow

पर्यटन

चेर्दुङबाट आँखै अगाडि गौरीशंकर [फोटोफिचर]

logo
मनिष अर्याल,
प्रकाशित २०८० फागुन ५ शनिबार
gaurishankar-dolakha-touris.jpg

दोलखा । घुम्ने मौसम पनि विस्तारै शुरू हुँदैछ । वसन्तऋतुको आगमनसँगै मौसममा सुधार आउना साथ नयाँ पालुवाको शुरूआत हुन्छ । 

यस्तै मौसममा काठमाडौँबाट कतै नजिकै घुम्न जाने स्थानहरू थुप्रै छन् । गाडीमा ड्राइभ होस् या हाइकिङ, ट्रेकिङ अब विस्तारै पर्यटकीय क्षेत्रहरू भरिभराउ हुन शुरू हुन्छ । 

काठमाडौँबाट नजिकको कुनै ठाउँ सोच्नु भएको छ भने एक दिन ड्राइभमा पुगिन सकिने र केही घण्टाको पैदल यात्रामा आफ्नो आँखै अगाडि गौरीशंकरदेखि सगरमाथा, नुम्बुरसम्म देखिने स्थान हो चेर्दुङ ।

चेर्दुङ नेपालकै स्वीट्जरल्याण्डको उपनामले चर्चित नगरी दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो । 

जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाइरहेको छ । समुद्र समहबाट करिब ३ हजार ७०० मिटरको उचाइमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । 

डाँडाको सुन्दर पाखामा खुल्ला आकाश मुनि महादेव शीला छ । जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन् । 

ध्वजा तथा खादाले शीलालाई सिँगारिएको छ । वरिपरि लुङ्दर टाँगिएका छन् । चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ । 

यहाँ पूजा गर्नाले रोग व्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाइन्छ । बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ ।

चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोक्किन पुग्छन् । रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौँ हिमश्रृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । 

डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बू लगायतका दृश्य हेर्न पाइन्छ । डाँडैबाट सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिन्छ । 

बाटोमा चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ । उक्त पोखरी सानो भए पनि मनै लोभ्याउने छ । रूखको छायाँमा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै साना चौरी गोठहरू पाइन्छन् ।  

वरिपरि रूखहरू भएता पनि पोखरीमा रूखका पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन । यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन् ।

जिरी बजारबाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करिब १ घण्टामै पुगिन्छ । यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका भाका सुन्न पाइन्छ । यहाँ गोठमा छुर्पी बनाइरहेको हेर्न र चाख्न पनि पाइन्छ । यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ति नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ । 

कसरी पुग्ने चेर्दुङ  
जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ । विशेषतः  पैदल यात्रा ६,७ घण्टा । जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाडा–क्याङ्से पोखरी–चेर्दुङ ।

मोटरबाटो (१ देखि २ घण्टा)

जिरी बजार – रातमाटे–कुथामे–जोरमाने–क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घण्टा पैदल यात्रापछि चेर्दुङ डाँडा पुग्न सकिन्छ । (नेपाल फोटो लाइब्रेरी) 

gaurishankar-dolakha-tourism (1).jpg
gaurishankar-dolakha-tourism (2).jpg
gaurishankar-dolakha-tourism (3).jpg
gaurishankar-dolakha-tourism (4).jpg
gaurishankar-dolakha-tourism (5).jpg
gaurishankar-dolakha-tourism (6).jpg
gaurishankar-dolakha-tourism (7).jpg
gaurishankar-dolakha-tourism (8).jpg
gaurishankar-dolakha-tourism (9).jpg
gaurishankar-dolakha-tourism (10).jpg
gaurishankar-dolakha-tourism (11).jpg
gaurishankar-dolakha-tourism (12).jpg
gaurishankar-dolakha-tourism (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ