arrow

महामञ्जुश्री मन्दिरमा बिहानैदेखि घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
changunarayan.jpeg

भक्तपुर ।आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले जानकारी दिए ।

 महामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार यहाँ हरेक वर्ष श्रीपञ्चमीका दिन भीड लाग्ने गर्दछ । आज विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक शिक्षिका बिहानैदेखि दर्शन एवं पुजाका लागि मन्दिर पुगेका थिए । 

त्यसैगरी आजै चाँगुनारायण–१ सरस्वतीखेलस्थित सरस्वती मन्दिरमा पनि उपत्यकाबाट आएका दर्शनार्थीको भीड लागेको छ । सरस्वती मन्दिरकै नामबाट गाउँको नाम रहन गएको यो ठाउँमा बिहानैदेखि भीड लागेको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । 

यस्तै भक्तपुर नगरपालिकाको भेलुखेलस्थित सरस्वती मन्दिर, नागपोखरीको सरस्वती मन्दिर, च्वङापाखा(सल्लाघारी) को सरस्वती मन्दिर, सूर्यविनायक नगरपालिका–.१० चित्तपोलको सरस्वती मन्दिरलगायतका मन्दिरमा दर्शनार्थी पुगेका छन् । आजै काठमाडौँको स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायतका सरस्वती मन्दिरमा पनि भीड लाग्ने गर्दछ । 

सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख) बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो । 

काठमाडौंका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन तथा विद्यार्थीको घुइँचो लागेको छ । 

स्वयम्भुनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकासहित आफन्तजनको भीड छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ ।

 आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र वुद्धि धेरै हुने जनविश्वास रहीआएको छ । 

चन्द्रमा जस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् ।

 विद्या र सृजनाकी देवी भएकाले सबैले आ–आफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ