arrow

क्यानडाविरुद्ध नेपालको ह्वाइटवास

नेपालले क्यानडालाई ९ विकेटले हरायो, अनिल र भिमको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
anil-sah-bhim-sharki-odi-20.jpg

काठमाडौँ । क्यानडा विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल ९ विकेटले विजयी भएको छ । नेपालले २३३ रनको चुनौती ४४.३ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि अनिल साह र भिम शार्कीले दोस्रो विकेटका लागि १८९ रनको अविजित कीर्तिमानी साझेदारी गर्ने क्रममा व्यक्तिगत शतक पूरा गरे । 

दुवैको यो एक दिवसीय अन्तर्राष्ट्रियको पहिलो शतक हो । 

अनिलले १२४ बलमा ११२ तथा भिमले १२९ बलमा १०१ रन बनाए । ओपनर कुशल भुर्तेल भने १४ बलमा १३ रन बनाएर आउट भएका थिए । 

सोमबार कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा दुई सय ३२ रनमात्र बनाउन सक्यो । 

क्यानडाका लागि नवनित धलिवालले ५० तथा निखिल दत्तले ४५ रन बनाए । कप्तान साद बिन जाफरले १५ बलमा अविजित रहँदै ३१ रन बनाए । 

नेपालका लागि हेमन्त धामीले ३ तथा कुशल मल्लले २ विकेट लिए । त्यस्तै ललित राजबंशी, आकाश चन्दले १ विकेट लिए । 

यो खेल जितेसँगै नेपालले तीन खेलको श्रृंखलामा ह्वाइटवास (३–० को जित) गरेको छ । नेपालले पहिलो खेल ७ रनले तथा दोस्रो खेल ३ विकेटले जितेको थियो । 

नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएपछि पहिलो पटक क्यानडासँग औपचारिक एक दिवसीय श्रृंखला खेलेको हो । 

नेपालको प्रशिक्षण मोन्टि देसाईले तथा क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।

दोस्रो खेलको नतिजा
कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरेसँगै नेपालले क्यानडालाई दोस्रो एक दिवसीय क्रिकेटमा हरायो । पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ३ विकेटले आफ्नो पक्षमा पार्न सफल भएको हो । 

२८६ रनको चुनौती नेपालले ४७ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेल्ने क्रममा १०१ बलमा ८७ रन बनाए । ४ छक्का र ८ चौका हानेका रोहित शतक बनाउनबाट भने चुके । 

त्यस्तै यू–१९ टिमका कप्तानसमेत रहेका देव खनालले ८१ बलमा ७६ रन जोडे । ओपनर अनिल साहले २० बलमा ३ छक्का र ७ चौकाको मद्धतले ५० रन बनाए । 

यसअघि क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २८५ रन बनायो । आरोन जोन्सनले ६५ रन बनाएको इनिङ्समा कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए । 

पहिलो पटक क्यानडासँग एक दिवसीय श्रृंखला खेलिरहेको नेपालको मनोबल उच्च छ । यसअघि नेपालले क्यानडा विरुद्धको पहिलो खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो । 

पहिलो खेलको नतिजा 
नेपालले क्यानडालाई ७ रनले हरायो । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए । 

२२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनायो । 

जित नजिक पुगेर पनि पछिल्लो ४३ रन जोड्न क्यानडाले ७ विकेट गुमाएपछि हारको सामना गर्नुपरेको हो । क्यानडाले ३२.५ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाइसकेको थियो । 

निकोलस किर्टनले ६८, पार्गत सिंहले ५० तथा हर्ष थाकेरले ३२ रन बनाएका थिए । स्पिनरहरु चम्किएको खेलमा रोहितले ८.५ ओभर बलिङ गर्दै २ मेडन राख्दै २२ रनमात्र खर्चेका थिए । 

त्यस्तै ललित राजबंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २२४ रन बनायो । 

ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए । 

त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ