arrow

बिगुल फुकेर शान्त प्रचण्ड

आफैँले नालायक भनेका मन्त्रीहरू राखेर सरकार चलाउनुको रहस्य 

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको प्राधिकार भएकाले समयक्रममा हेरफेर हुनु स्वभाविक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
cabinet-2080-10-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई महिनाअघि आफैँले नालायक घोषणा गरेका मन्त्रीहरुको साथ लिएर सरकार चलाइरहेका छन् । 

गत मंसिरमै उनले मुख्यसचिव, सचिवहरुलाई साथमा राखेर मन्त्रिहरुले राम्रो काम गर्न नसकेको भन्दै नालायक घोषणा गरेका थिए । 

त्यसबेला उनले मन्त्रीहरु हटाउने तयारी गर्दा सिंहदरबारमा कर्मचारीहरुले विभागीय मन्त्रीहरुलाई असहयोग गर्दै आइरहेका छन् । तर पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरु फेर्न सकेका छैनन् ।

पार्टीभित्रका आफ्ना सांसदलाई मन्त्री पदको भाग पुर्याउन पनि प्रचण्डका लागि मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्नुपर्ने बाध्यता रहेको छ । 

तर उनले यो बाध्यतालाई सहजै पूरा गर्ने अवस्था छैन । पुस १० गते एक वर्ष पुगेको अवसरमा देशवासीको नाममा प्रचण्डले सम्बोधन गर्दा पनि मन्त्रिपरिषद्मा हेरफेर गरेर भए पनि जनताको काम गर्ने बताएका थिए । 

यतिबेला पनि उनी पटक–पटक मन्त्री हेरफेरको कुरा गरिसकेका छन् । १० पुसमा तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प्रचण्डले कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीलाई हटाउने प्रस्ट संकेत गरेका थिए तर त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

‘जनतालाई साक्षी राखेर आज म माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था छैन,’ प्रचण्डले पुस १० मा भनेका थिए, ‘हामी सबै आफूले निभाएको भूमिकालाई न्याय गर्नुपर्ने दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने अब कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो अरूका लागि उपदेश होइन, आफैंसँगको वाचा हो ।’ 

अहिले पनि प्रचण्ड आफ्नै कारणले खुम्चिएका छन् । मन्त्री हेरफेरमा नेकपा एसबाहेक अन्य दलले तत्कालै साथ दिने अवस्था  देखिएको छैन । 

नेकपा एसमा भने सांसदहरुलाई पालो पुर्याउनु पर्ने भएकाले दुई मन्त्रीहरु बेदुराम भुसाल र प्रकाश ज्वालालाई फिर्ता बोलाएर पार्टीका अन्य नेताहरुलाई पठाउने तयारी छ । 

बेदुरामले भनेजस्तो पदीय दायित्व निर्वाह नगरेको र ज्वालाले ईपीएस परीक्षाको आन्दोलनमा गएर आन्दोलनलााई घ्यू थपेकै कारण मन्त्रीको गाडी जलेको आरोप लगाएरै उनको अलोकप्रियता बढेको हो । 

उता कांग्रेसभित्र पनि यस्तै समस्या देखिएपछि राष्ट्रिय सभा निर्वाचनबाट आउने परिणामपछि मात्रै मन्त्रीहरु हेरफेर गर्ने संकेत कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । 

‘म सभापति देउवाको समय कुरिरहेको छु’, प्रचण्डले बालुवाटारमा मन्त्री हेरफेरबारे आफू निकट रहेका नेताहरुसँग भन्ने गरेको स्रोतले जनाएको छ । 

यद्यपि देउवा अहिले मौन छन् । बाहिर मौन देखिएको भए पनि भित्र भने उनले प्रचण्डलाई कांग्रेसको महासमिति बैठकपछिमात्र मन्त्री फेर्ने बताएका छन् । यसपालिको कांग्रेसको महासमिति बैठक पटक पटक सरेर फागुन ७ देखि १० गतेसम्म बस्दैछ । 

पछिल्लो पटक विदेश भ्रमणमा युगान्डा पुगेका प्रधानमन्त्रीले प्रचण्डले मन्त्रीहरुले ठिक ढंगले काम गर्न नसकेको बताएका थिए । उनी फर्केर आएपछि पनि यही कुरा दोहोर्याएका थिए । खासगरी प्रचण्डले अर्थमन्त्री परिवर्तन गर्न खोजिरहेका छन् । गत मंसिरको अन्तिम साता अर्थमन्त्री डा. प्रकाशशरण महतलाई लक्षित गरेर काम नभएको बताएपछि त्यसैदिन बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच नोकझोँक भएको थियो । 

अर्कोदिन धितोपत्र बोर्डको ‘सौता’ हाल्ने (नयाँ स्टक एक्सचेन्जको लाइसेन्स) प्रकरणमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीबीच नोकझोँक चलिरहेको छ । 

मुख्यगरी अर्थतन्त्रका विषयमा प्रश्न उठ्दै आएकाले प्रचण्डले महतलाई हटाएर कुनै प्रभावशाली नेतालाई अर्थ मन्त्रालयको जिम्मा दिन खोजेको नेताहरूको दाबी छ । महतलाई हटाउन देउवा तयार नभएका कारण पनि यतिबेला मन्त्रिपरिषद् गठनमा बाधा उत्पन्न भएको गठबन्धन दलका एक नेताले बताए ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको प्राधिकार भएकाले समयक्रममा हेरफेर हुनु नौलो कुरा नभएको बताए । 

उनका अनुसार प्रधानमन्त्रीको ‘मुड’ मन्त्रिपरिषद् हेरफेरमा रहेको छ । यद्यपि कम्तीमा फागुन ७–१० को महासमिति बैठकसम्म मन्त्री हेरफेरको नामै उच्चारण नगर्ने पक्षमा कांग्रेस सभापति रहेका कारण पनि प्रचण्ड खुम्चिएको स्रोतको दाबी छ । 

महासमिति बैठकलगत्तै सरकार बजेटको तयारीमा लाग्नुपर्ने भएकाले अर्थमन्त्रीको हेरफेरको सम्भावना निकै कमजोर रहेको बताइन्छ  ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने भएकाले यसको बारेमा खास चर्चा आवश्यक नभएको बताए । 

गठबन्धन दलहरु मिलेर सरकार बनाएकाले दलहरुबीच छलफल चल्नु पनि स्वाभाविक भएको उनको दाबी छ ।

‘शीर्ष नेताहरुले यो विषयमा केही सोचिरहेका होलान् मन्त्री परिवर्तन गर्ने विषय हल्ला गरेर होइन यो त कुनै पनि आकस्मिक रुपमा हुनुपर्ने हो, प्रवक्ता खतिवडाले भने ।  

अहिले माओवादीसहित कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी गरी ८ दलको संयुक्त सरकार छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि आफ्नो कार्यकालको एक वर्ष पूरा हुनै लाग्दा  विभागीय मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गर्ने जानकारी दिएका थिए । 

मन्त्रिपरिषदलाई पूर्णता दिएपछि साउन २६ गते प्रधानमन्त्री प्रचण्डले ‘कार्यसम्पादन नियमावली–२०६४’ मा टेकेर विभागीय मन्त्रीका बिचमा वार्षिक कार्यसम्पादन सम्झौता गरेका थिए । 

सम्झौता अनुसार काम नगर्ने मन्त्रीहरुलाई कारबाही गर्ने चेतावनीसमेत उनले दिएका थिए । कार्यसम्पादन सम्झौता २०८०–८१ को नीति, कार्यक्रम, बजेट, प्रधानमन्त्रीले संघीय संसदमा गरेको सम्बोधन, सरकारका सचिवलाई दिएको निर्देशन, सरकारको एकीकृत कार्ययोजना आदि सूचकलाई आधार बनाइएको थियो । 

सम्झौतापत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्य समावेश गरी छुट्टाछुट्टै बनाइएको थियो ।  कार्यसम्पादन सम्झौतामा कार्यक्रम र क्रियाकलापको सूची तथा सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख गरिएको थियो । 

सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग–अलग कार्यसूची तयार पारिएको थियो । 

जसमा नतिजा सूचक, भार, इकाइ, अघिल्लो आर्थिक वर्षको समग्रस्थिति र चालु आर्थिक वर्षको लक्ष्य निर्धारण गरिएको थियो । 

सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने, त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्याङ्कनको आधार बनाउने उल्लेख भएको प्रधानमन्त्री कार्यालयले जनाएको थियो । 

सोही अनुसार प्रचण्डले मंसिरको अन्तिम साता चौमासिक समीक्षा गर्दा अधिकांश मन्त्रीको रिपोर्ट कार्ड नकारात्मक रहेको थियो । 

नकरात्मक रिपोर्ट कार्ड भएका मन्त्रीहरुलाई हटाउने प्रयासमा लागिरहे पनि प्रचण्ड असफल भएका छन् । 

२५ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीबाट प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री छन् । 

सबैभन्दा ठूलो दल कांग्रेसबाट उपप्रधानमन्त्रीसहित ९ मन्त्री छन् । यसैगरी एकीकृत समाजवादीबाट २ मन्त्री र एक राज्यमन्त्री, जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । यस्तै, नाउपा, नेसपा र लोसपाबाट एक–एक मन्त्री सरकारमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ