arrow

यू–१९ विश्वकप क्रिकेट

आकाशद्वयले जगाए आशा, २४ रन जोड्न पाकिस्तानले गुमायो ४ विकेट 

नेपालको कमजोर ब्याटिङ, १९८ रनको झिनो चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
u19-worldcup-np-pak-2024a.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले पाकिस्तानसँग खेलिरहेको छ । 

इन्ट लण्डनमा जितका लागि पाकिस्तानले १९८ रनको सामान्य चुनौती पछ्याइरहेको छ । तर संयमित खेलेको पाकिस्तानले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेसँगै जित नजिक पुगेको भए पनि थप २४ रन जोड्ने क्रममा ४ विकेट ढलेपछि नेपालको आशा बढेको छ । 

नेपालको आशा बढाउने काम आकाश चन्दले गरेका हुन् । अन्य बलरहरु अफाप सिद्ध भइरहँदा आकाशले तीन वटै विकेट लिएसँगै नेपालको आशा कायमै रहेको हो । 

आकाशले क्रिजमा सेट भइसकेका ब्याट्सम्यानलाई पभेलियन फर्काएका हुन् । 

त्यसपछि आकाश त्रिपाठीले पहिलो ओभरमै विकेट झारेका छन् । उनले कप्तान साद बैगलाई शून्यमा आउट गरे । 

पाकिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनाइसकेको छ । 

नेपालको इनिङ्स
नेपालले पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रनमात्र बनायो । 

विपिन रावलले सर्वाधिक ३९ रन बनाउने क्रममा ६८ बलको सामना गरेका थिए । उनले १ छक्का र ४ चौकाको मद्धतले ३९ रन बनाएका हुन् । 

दोस्रो ठूलो स्कोर दीपक डुम्रे र अतिरिक्त रनका रुपमा नेपालले पाएको हो । डुम्रेले ५८ बलमा २६ रन जोडे भने अतिरिक्तका रुपमा २६ रन उपहार पाएको हो । 

त्यस्तै कप्तान देव खनालले ३७ बलमा २३ रन जोडेर पभेलियन फर्के । सुभाष भण्डारीले २० रन बनाउँदा भरपर्दा अलराउन्डर मानिएका गुल्सन झाले भने १८ रनमात्रै बनाए । 

गुल्सनको ब्याटिङ यू–१९ मा खुलेको छैन । आकाश चन्दले ११ बलमा अविजित रहँदै १६ रन जोडे । दिपेश कणेलले १७ बलमा १३ रन बनाए । 

न्यूजिल्याण्डविरुद्ध शानदार ९० रन बनाएका ओपनर अर्जुन कुमालले भने पाकिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । उनले १२ बलको सामना गर्दै मात्र ६ रन बनाए । त्यस्तै आकाश त्रिपाठी पनि १० बलमा ६ रन बनाएर आउट भए । उत्तम मगरले १५ बलमा ४ रनमात्र बनाउन सके । दुर्गेश गुप्ताले रनको खाता खोलेनन् । 

नेपाल समूह डीमा रहेको छ । पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको थियो । 

यसअघिका दुवै भेटमा न्यूजिल्याण्डलाई पराजित गरेको नेपालले यसपालि भने ६४ रनको हार बेहोरेको हो । 

त्यस्तै पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यो समूहमा पाकिस्तानमा बलियो टिम मानिन्छ । 

तर न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै अर्को चरणमा पुगिसकेको छ । 

अर्को चरण प्रवेश सम्भावना राख्न नेपालले पाकिस्तानमाथि जित हासिल गर्नुपर्छ । नेपालले न्यूजिल्याण्डसँग गरेको गल्ती कम गरी आत्मविश्वासका साथ मैदानमा उत्रने हो भने पाकिस्तानसँगको जित टाढा भने छैन । 

यस्तो थियो नेपाल र न्यूजिल्याण्डको खेल
गत आइतबार भएको पहिलो खेलमा यू–१९ क्रिकेटमा नेपाल पहिलो पटक न्यूजिल्याण्डसँग पराजित भयो । यसअघि भएका दुवै भेटमा नेपाल विजयी भएकामा तेस्रो भेटमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको हो । 

पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको फराकिलो चुनौती पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दैै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् । 

अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले आज शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए । 

नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ३६ रन बनाए । नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहे । सो क्रममा १० औँ विकेटको साझेदारी राम्रो भएको थियो । 

दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सो क्रममा सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए । 

न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए । यसअघि इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो । 

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।
 
नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए । 

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ