arrow

यू–१९ विश्वकप क्रिकेट

नेपालले पाकिस्तानलाई दियो १९८ रनको चुनौती, बलिङमा चम्किने आशा

कमजोर ब्याटिङ, दोस्रो उच्च स्कोर अतिरिक्त रनबाट, प्रतिक्षा बलिङको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
gulsan-jha-u19-worldcup.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले पाकिस्तानसँग खेलिरहेको छ । 

इन्ट लण्डनमा जितका लागि नेपालले पाकिस्तानलाई १९८ रनको सामान्य चुनौती दिएको छ । टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रनमात्र बनायो । 

विपिन रावलले सर्वाधिक ३९ रन बनाउने क्रममा ६८ बलको सामना गरेका थिए । उनले १ छक्का र ४ चौकाको मद्धतले ३९ रन बनाएका हुन् । 

दोस्रो ठूलो स्कोर दीपक डुम्रे र अतिरिक्त रनका रुपमा नेपालले पाएको हो । डुम्रेले ५८ बलमा २६ रन जोडे भने अतिरिक्तका रुपमा २६ रन उपहार पाएको हो । 

त्यस्तै कप्तान देव खनालले ३७ बलमा २३ रन जोडेर पभेलियन फर्के । सुभाष भण्डारीले २० रन बनाउँदा भरपर्दा अलराउन्डर मानिएका गुल्सन झाले भने १८ रनमात्रै बनाए । 

गुल्सनको ब्याटिङ यू–१९ मा खुलेको छैन । आकाश चन्दले ११ बलमा अविजित रहँदै १६ रन जोडे । दिपेश कणेलले १७ बलमा १३ रन बनाए । 

न्यूजिल्याण्डविरुद्ध शानदार ९० रन बनाएका ओपनर अर्जुन कुमालले भने पाकिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । उनले १२ बलको सामना गर्दै मात्र ६ रन बनाए । त्यस्तै आकाश त्रिपाठी पनि १० बलमा ६ रन बनाएर आउट भए । उत्तम मगरले १५ बलमा ४ रनमात्र बनाउन सके । दुर्गेश गुप्ताले रनको खाता खोलेनन् । 

नेपाल समूह डीमा रहेको छ । पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको थियो । 

यसअघिका दुवै भेटमा न्यूजिल्याण्डलाई पराजित गरेको नेपालले यसपालि भने ६४ रनको हार बेहोरेको हो । 

त्यस्तै पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यो समूहमा पाकिस्तानमा बलियो टिम मानिन्छ । 

तर न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै अर्को चरणमा पुगिसकेको छ । 

अर्को चरण प्रवेश सम्भावना राख्न नेपालले पाकिस्तानमाथि जित हासिल गर्नुपर्छ । नेपालले न्यूजिल्याण्डसँग गरेको गल्ती कम गरी आत्मविश्वासका साथ मैदानमा उत्रने हो भने पाकिस्तानसँगको जित टाढा भने छैन । 

यस्तो थियो नेपाल र न्यूजिल्याण्डको खेल
गत आइतबार भएको पहिलो खेलमा यू–१९ क्रिकेटमा नेपाल पहिलो पटक न्यूजिल्याण्डसँग पराजित भयो । यसअघि भएका दुवै भेटमा नेपाल विजयी भएकामा तेस्रो भेटमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको हो । 

पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको फराकिलो चुनौती पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दैै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् । 

अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले आज शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए । 

नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ३६ रन बनाए । नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहे । सो क्रममा १० औँ विकेटको साझेदारी राम्रो भएको थियो । 

दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सो क्रममा सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए । 

न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए । यसअघि इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो । 

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।
 
नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए । 

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ