arrow

ओलीसहितको प्रतिनिधिमण्डलले भेट्यो प्रचण्डलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
oli-prachanda-bhetghat.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको छ ।  प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रचण्डलाई भेटेको हो । 

सो अवसरमा एमालेले गत मङ्सिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुला घाटबाट ताप्लेजुङको चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी सरकारसमक्ष ध्यानाकर्षण पत्र प्रस्तुत गरेको थियो ।

भेटमा  ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले मध्य पहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । 

उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षण पत्र मध्य पहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिविद्धतासमेत व्यक्त गरे ।

सो अवसरमा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्य पहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षण पत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरे । 

प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ