arrow

पुष्करिणी परोपकार गोकुलधाममा महायज्ञ, ५८ लाख सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
mahayagya-pokhara-gakuldham.jpg

पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु ५८ लाख बढी रकम सङ्कलन भएको छ ।

पुष्करिणी परोपकार गोकुलधाम पोखरा-१४ बाच्छीबुडुवा (वात्स्यायन क्षेत्र) मा पुस २६ देखि माघ ४ गतेसम्म आयोजित महायज्ञमा नगद तथा जिन्सी गरी रु ५८ लाख २२ हजार १ सय ८२ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिए ।

उनका अनुसार महायज्ञको पहिलो दिन रु ७२ हजार ८ सय ३०, दोस्रो दिन रु २ लाख ३४ हजार २ सय, तेस्रो दिन रु ४ लाख ३४ हजार १०, चौँठो दिन रु ३ लाख १२ हजार ४ सय ५०, पाँचौँ दिन रु.१० लाख ८२ हजार ३ सय ६५, छैटौँ दिन रु ७ लाख २३ हजार ९ सय ७५, सातौँ दिन रु १४ लाख ७६ हजार ७० र अन्तिम दिन रु ८ लाख ३२ हजार सङ्कलन भएको छ ।

महायज्ञमा जिन्सी दान, परोपकार कोष र मुठ्ठी दानसमेत गरी रु ५८ लाख २२ हजार १ सय ८२ सङ्कलन भएको हो ।

महायज्ञ समापनमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला गोकुल धाम सञ्चालन भएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको बताइन् ।

गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने उनको प्रतिवद्धता छ ।

गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्र स्थलकारूपमा विकास गर्नेगरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध रहेको उपप्रमुख गुरुङले बताइन् ।

भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संशाधनको विकाससमेत अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत संस्कार र संस्कृतिकोसमेत रक्षा गर्नुपर्नेमा जोड दिइन ।

पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौमाताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने बताए । उनले गौशाला व्यवस्थापनमा पोखरा महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्व देखिने गरि बहन गर्न आवश्यक रहेको स्पष्ट पारे ।

वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलकारूपमा परिचित पोखरा-१४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उनको भनाइ छ । अध्यक्ष कार्कीले वडा कार्यालयको तर्फबाट रु ५ लाख र आफ्नो व्यक्तिगत रु १ लाख १५ हजार दान सहयोगसमेत प्रदान गरे ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गौशाला व्यवस्थापन कार्य सिङ्गो मुलुक कै लागि अनुकरणीय भएको बताए ।

वडाध्यक्ष मर्सानीले राष्ट्रिय परोपकार महासंघले पोखराका सडकमा रहेका छाडा पशुचौपायको उत्कृष्ट व्यवस्थापन गरी महानगरपालिकालाई गुन लगाएको बताए ।

अध्यक्ष मर्सानीले गौरक्षाको अभियानका लागि वडा कार्यालयको तर्फबाट रु ५६ हजार नगदै र बाँकी पछि व्यवस्थापन गर्ने गरी रु १ लाख सहयोग प्रदान गरे ।

महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार युवा पण्डित कमलनयन गौतमले बोलीमामात्र सीमित गौसेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले गोकुल धामको प्रारम्भ गरिएको बताए ।

उनले धाम गौसेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । गौशाला पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्न सक्ने उनको विश्वास छ ।

गौ माताको महिमा अपरम्पार रहेको बताउँदै गौतमले विषपान गरेर पनि अमृत प्रदान गर्ने गौहरूको आश्रयस्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ