arrow

म जति सफल हुनुपर्ने हो, अझै भएको छैन: प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
melamchi-water-prachanda-2080 (14).jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन् । सोमबार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताएका हुन् । 

प्रचण्डले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए । उनले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरङ्कुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रचण्डको भनाई थियो ।

उनले भने, ‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको भूमिका अग्रणी रहेको कुरा इतिहास सिद्ध छ । आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिकमा रहेका छौं । त्यो प्राप्त गरेका छौं । त्यसको पृष्ठभूमिमा नेपालका प्रथम शहीद लखन थापालगायतका क्रान्तिकारी योद्धाहरूको बलिदान महत्त्वपूर्ण छ । यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले राणा शासनको अन्त्य हुन सकेको हो । नेपालको क्रान्तिकारी आन्दोलनमा लखन थापाको विरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नै पर्दछ । मलाई कठोर निरङ्कुशता विरुद्ध लडन जनस्तरबाट उठेका एक क्रान्तिकारीलाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने मागप्रति सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरङ्कुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको पनि सम्मान हुन्छ भन्ने मेरो विश्वास छ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल भइरहेको र पहल गरिने विश्वास पनि म तपाईँहरूलाई दिलाउन चाहन्छु । म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए । तर दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन । परिणाम तपाई हामीले भोगिराखेकै छौं । त्यस कारण यो ऐतिहासिक सन्दर्भमा पनि तपाईँहरू सबैसँग अपिल गर्न चाहन्छु–जसले यो परिवर्तन ल्याउनका लागि सबैभन्दा बढी बलिदान ग¥यो, जसले यसको नेतृत्व गर्‍यो, त्यसको हात बलियो भएन भने दुर्भाग्यपूर्ण स्थिति आउन सक्दो रहेछ । यो कुरामा तपाईँहरू सबैको ध्यानाकर्षण गराउन चाहन्छु । ’

प्रचण्डले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रूपमा अघि बढाएको पनि दोहोर्‍याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ