arrow

जलवायु दूत केरी राजीनामा दिने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
john-kerry.JPG
तस्बिर – फाइल ।

वासिङ्टन । बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत जोन केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको केरीनिकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

पूर्व विदेशमन्त्री तथा राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका ८० वर्षीय केरीले तीन वटा अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलनमा अमेरिकी वार्ताको नेतृत्व गरेका थिए । 

एक्जिओसले केरीले राजीनामा दिने तयारी गरेको र बाइडेनको अभियानमा सामेल हुन चाहेको सबैभन्दा पहिले जानकारी गराएको थियो । 

बाइडेन प्रशासनमा सामेल हुनुअघि केरीले जलवायुसम्बन्धी विषयमा लामो समयदेखि काम गरेका थिए । सन् २०१५ मा करिब २०० राष्ट्रले स्वीकार गरेको जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको पेरिस सम्झौताको वार्तामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

सन् २०१९ मा केरीले जलवायु सङ्कटसँग जुध्न विश्वका नेता र सेलिब्रेटीहरूको द्विपक्षीय पहलको लागि विशेष भूमिका खेलेका थिए । 

यस पहललाई जलवायु सङ्कटसँग जुध्नका लागि भएको ‘वल्ड वार जिरो’ भनिन्छ ।

केरीले दशकौँसम्म सिनेटमा जो बाइडेनसँगै काम गरेका थिए । उनी सन् १९८४ मा म्यासाचुसेट्सको प्रतिनिधित्व गर्न सिनेटमा पहिलो पटक निर्वाचित भएको र गभर्नर माइकल डुकाकिसको नेतृत्वमा राज्यको लेफ्टिनेन्ट गभर्नरको रूपमा सेवा गरेका थिए ।  

सन् २००४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुससँग पराजित हुनुअघि केरीले डेमाक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी मनोनयन गराएका थिए । 

सन् २००९ मा बाइडेन उपराष्ट्रपति भएपछि केरीले बाइडेनले सम्हाल्दै आएको सिनेटको विदेश सम्बन्ध समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनलाई सन् २०१२ मा बाराक ओबामाले विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।  

केरीले भियतनामको नौसेनामा मेकोङ डेल्टामा गनबोट अफिसरको रूपमा पनि सेवा गरेको र प्रसिद्ध अमेरिकी पुरस्कार सिल्भर स्टार, ब्रोन्ज स्टार र थ्री पर्पल हार्ट्सबाट सम्मानित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ