arrow

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १६ सोमबार

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहेको छ । लोकतन्त्र प्राप्तिका लागि पटक–पटक आन्दोलनमा योगदान गरेका, बृहत् शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहेको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम आयोजना भइरहेको हो । यसका लागि शीर्ष नेताहरुलाई कांग्रेसका नेताहरु घरमै पुगेर निम्तोसमेत गरेका थिए । 

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी हरेक वर्ष मनाउने गरेको छ ।

यस्तो छ पृष्ठभूमि
प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ–आठ ओटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा कांग्रेसले २०३४ सालदेखि यो दिवस मनाउ थालेको हो । 
 
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । 

भारत निर्वासनमा रहँदा बीपी लगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४७ वर्षअघि आजकै दिन स्वदेश फर्किएका हुन् । देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्किएका थिए । 

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । 

त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो । 

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि शुरु गरेका थिए । राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४७ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन् । 

विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । 

विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बीपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।
 
सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र  ‘हिटलर र यहुदी’ उपन्यास,  ‘आफ्नो कथा’ ९आत्मजीवनी० र जेल बस्दाको दैनिकी ९पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित० लेखेका थिए । 

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिन्छन् । 

विसं २०३३ पुस  १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।

आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्दैछ । 

प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ ।

यसलाई नेपाली कांग्रेसका नेताहरुले समेत अवलम्बन गर्न नसकेको पाइएको छ । त्यतिमात्र हैन कांग्रेससँग सहकार्य गर्दा कम्युनिष्ट नेताहरुलेसमेत मेलमिलाप दिवसका बारेमा लामो भाषण गरेको पाइन्छ । 

तर अन्य बेलामा भने राष्ट्रिय मुद्धामासमेत दलहरु टाढिँदा न त संघीयताले मूर्त रुप लिन सकेको छ न त विकासले गति लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ